काठमाडौँ — चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सोमबार अबेर चितवनमा सकिएको छ ।
बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोबाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा पहिलो पटक महिला ड्राइभरमात्र सहभागी भएका थिए ।
भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट सुरु भएको र्याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलपुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो । गोलाघाटको विश्रामपछि बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर टीएसडी र्यालीमा टुंगिएको थियो ।
टीएसडी र्याली समापन सत्रमा अस्ट्रेलियादेखि लन्डन हुँदै नेपालसम्म गाडी यात्रा गरेका दिनेश कठायत, स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट गेम्समा नेपालबाट सहभागी प्रज्ञा कँडेलले आफ्नो अनुभव सुनाएका थिए ।
त्यसपछि र्याली बीसहजारी ताल हुँदै सौराहास्थित चित्रसारी ग्राउन्डमा पुगेको थियो । त्यसै ग्राउन्डमा अटो जिमखाना फर्म्याटको रेसिङ भएको थियो ।
टाइम, स्पिड र डिस्टेन्स (टीएसडी) का आधारमा आयोजना गरिएको र्यालीमा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीको जोडीले पहिलो स्थान हासिल गर्यो । शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशादेवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरूले ड्राइभर र नेभिगेटरको रूपमा भूमिका निभाएका थिए ।
नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ विजयी बनिन् । कल्पना पौडेल दोस्रो र सावित्री रेग्मी तेस्रो भए ।
कार्यक्रमको महिला सशक्तीकरण, एड्भेञ्चर स्पोर्टस र ड्राइभ टुरिजम मुख्य थिम रहेको थियो ।
