काठमाडौँ — सूर्य नेपाल एनपिजिए म्याच–प्ले गल्फको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई नीरज तामाङले फराकिलो अन्तरको जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगर पनि क्वाटरफाइनल पुगे । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भुवनले १६ औं वरीयताका पशुपति शर्मालाई ५–४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धनबहादुर थापाविरुद्ध खेल्नेछन् ।
आठौं वरीयताका धनले नवौं वरीयताका भुवनकुमार रोक्कालाई हराए । कडा प्रतिस्पर्धाबीच १७ औं होलको समाप्तिसम्म दुवै बराबरीमा थिए । १८ औं होल जित्दै धन अन्तिम चार पुगे ।
नेपाल नम्बर दुई प्रो नीरजले १५ औं वरीरयताका सूर्यप्रसाद शर्मालाई सहजै ५–४ ले हराए । चार होल अगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन् । उनले सातौं वरीयताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन् । रामेले १० औं वरीयताका दीपक मगरलाई ४–३ को नतिजामा हराए ।
तेस्रो वरीयताका दिनेशले १४ औं वरीयताका रमेश अधिकारीलाई ४–३ ले हराए । उनको भेट अनुभवी तोरणविक्रम शाहीसँग सेमिफाइनल पुग्नका लागि हुनेछ । ११ औं वरीयताका तोरणले छैटौंका जयराम श्रेष्ठ ३–२ ले पराजित गरे ।
चौथो वरीयताका रवि खड्काले १३ औं वरीयताका टंकबहादुर कार्कीलाई ३–२ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२ औं वरीयताका प्रदीपकुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौं वरीयताका सञ्जय लामाविरुद्ध २–१ को नतिजा निकाले ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटका आधारमा १६ प्रोफेसनल गल्फर प्रतिस्पर्धामा छन् । उपाधि विजेताले ६० हजार जित्नेछन् । दोस्रोले ४२ हजार, तेस्रोले ३२ हजार र चौथोले २४ हजार रुपैयाँ जित्नेछन् ।
