दाङ — लुम्बिनी प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँके सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएपछि रुपन्देहीले १८ रनको जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत लमही-५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा ११६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके ५१ रन बनाउँदा ४ विकेट गुमाएर खेलीरहेको अवस्थामा थप ४६ रन जोड्दा अलआउट भयो ।
१९ दशमलव ३ ओभरमा अलआउट भएको बाँकेका लागि शुभेन्दु पाण्डेले अविजित २३ रन बनाए पनि हार टार्न सकेनन् । उनी २७ बलमा ३ चौकासहित २३ रनमा अविजित रहँदा मध्यक्रमका अरु ब्याटर क्रिजमा टिक्न नसक्दा बाँकेले १८ रनको हार बेहोर्यो ।
बाँकेका लागि सुनिल भण्डारीले १८ बलमा १६ रन, युवराज शर्माले १० बलमा १३ रन, सदाब अन्सारीले १५ बलमा १० रन जोडे । बाँकेलाई अलआउट गर्न कसिलो बलिङ गरेका रुपन्देहीका अजय चौहानले ४ ओभरमा जम्मा २ रन खर्चेर ४ विकेट हात पारे । कप्तान देव खनालले ३ ओभरमा १४ रन दिएर २ विकेट लिँदा सुरज खड्काले पनि ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । बिप्रशन केसीले २ ओभरमा २१ रन दिएर १ विकेट लिँदा कृष्ण कार्कीले पनि ३ दशमलव ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो ।रुपन्देहीका लागि सुमन पाण्डेले २१ बलमा १ छक्का र ४ चौकासहित ३३ रन बनाए । कप्तान देव खनालले ११ बलमा १२ रन, मृनाल गुरुङले ३२ बलमा १९ रन, मनिष थापाले २० बलमा ११ रन, प्रज्वल थापाले ८ बलमा १० रन बनाए ।
बाँकेका लागि अजय सहनी र विजय चौधरीले समान ३-३ विकेट लिए । अजयले ३ दशमलव ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा विजयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए ।
यसैगरी, अनिमेश शाहीले ३ ओभरमा २२ रन दिएर २ विकेट लिँदा सलाउद्दिन खानले ४ ओभरमा २३ रन खर्चेर १ विकेट हात पारे । प्रतियोगितामा बाँकेलाई हराउन कसिलो बलिङ गरेका रुपन्देहीका अजय चौहान प्लेयर अफ द म्याच भए ।
