दाङ — लुम्बिनी प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा दाङ पाल्पालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । पाल्पालाई हराउन दाङका तुलबहादुर थापाले अलराउण्डर प्रदर्शन गरे ।
घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलबार १६३ रनको विजयी लक्ष्य पछ्याएको पाल्पाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४६ रन मात्रै बनाएपछि दाङले १६ रनको जीत हासिल गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गर्दै जीत नजिक पुर्याएपनि दाङले उत्कृष्ट पुनरागमन गरेपछि पाल्पा क्वाटरफाइनलबाट बाहिरिएको हो । १० बलमा २२ रन चाहिएको अवस्थामा पाल्पाका लीला शर्मा लङअनबाट किशन भारतीले गरेको थ्रो मा रनआउट भएपछि दाङलाई जीतको आधार बनेको हो । १९ औँ ओभरमा दाङका बीरबहादुर घर्तीले पाल्पाको साझेदारी तोड्दै जित दिलाए । १८ दशमलव ३ ओभरमा पाल्पाका लीला आउट हुँदा लगत्तै १८ दशमलव ४ ओभरमा अर्का सेट ब्याटर नरबहादुर सार्की बोल्ड आउट भए ।
लीलाले ३४ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४६ रन जोडेर आउट भए । यसैगरी नरबहादुरले २३ बलमा ३ छक्का र ४ चौकासहित ४५ रन जोडे । पाल्पाका मनिष न्यौपानेले १३ रन, रुपेश बस्याल र बिपिन खातीले समान ६-६ रन जोडे । दाङका किशन भारतीले २ ओभरमा ५ रन दिएर २ विकेट लिए । बीरबहादुर घर्ती, राजकुमार कुमाल र तुलबहादुर थापाले समान १-१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङका लागि तुलबहादुर थापाले उत्कृष्ट पारी खेल्दै अविजित ६३ रन बनाए । जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक पनि हो । दाङले ७ विकेटको क्षतिमा १६२ रन बनायो । तुलबहादुरले जम्मा ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन जोडे ।
मनोज पुनले ३६ बलमा ३० रन, शिशिर डिसीले २७ बलमा २४ रन, बीरबहादुर घर्तीले ६ बलमा ११ रन र किशन भारतीले १० बलमा ७ रनको योगदान दिए । पाल्पाका केशव पहरियाले २ विकेट लिँदा विपिन भट्टराई, नरबहादुर सार्की र रुपेश बस्यालले समान १-१ विकेट लिए । प्रतियोगितामा दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
प्रदेश सरकारको खेलकुद परिषद्ले पहिलोपटक आयोजना गरेको प्रतियोगिता दाङका घोराही र लमहीका दुई खेल मैदानमा भइरहेको छ । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए । नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्य प्रतियोगिताले राखेको उनले बताए ।
