बारा — जितपुर सिमरा १५ औं गोल्डकप प्रतियोगितामा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब जितपुरसिमरा सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा फ्लड लाइटमा भएको ‘ए’ डिभीजन प्रतिगोगितामा फ्रेन्डस् क्लबलाई १–० ले चकित पार्दै उसले सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।
सोमबारको यो खेलसँगै १५ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि बुधबार आयोजक नव जनजागृति युवा क्लबसँग भिड्ने छ । मंगलबार साँझ हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी बीएफसी भरतपुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
खेलको ९ औं मिनटमा हिमालयनको तर्फबाट भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोलले नै हिमालयन शेर्पाको जित पक्का गर्यो । बिनु आले मगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेन्डस्का गोल रक्षक विकेश कुथु आफैंमा सम्हालिन नपाउँदै रिबाउण्ड बलमा पुनः रोबर्टले गोल गर्न सफल भएका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेन्डस्ले फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु परेको थियो । खेलको छेटौं मिनेटमा फ्रेन्डस्का विशाल ठकुरीले वन भर्सेस वनको स्थिति गुमाएको थियो । लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । तर उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोल रक्षक विवश चौधरीले रोक्ने मौका पाए ।
खेलको ४४ औं मिनटमा सुशील लामाको अर्को प्रहार भने बिफल हुन पुगेको थियो । डिबक्स भित्रबाट सुशीलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोल रक्षकले बचाउ गरेका थिए । हिमालयन शेर्पाका मानबहादुर रानाको मिस पासको अवसर लिँदै सुशीलले सानदार अवसर सिर्जना गरेका थिए ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो भए । उनले १० हजार नगद र ट्रफी पाए । मंगलबार साँझ हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी बिएफसी भरतपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
