दाङ — घोराहीमा जारी दोस्रो घोराही गोल्डकप फुटबलको उपाधिका लागि साबिक विजेता घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।
घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार पहिलो सेमिफाइनलमा राप्तीले तुलसीपुर उपमहानगरपालिका टिमलाई ३–० गोलले हराउँदै फाइनल तय गरेको हो । दोस्रो सेमिफाइनलमा आयोजक घोराहीले गढवा गाउँपालिकालाई ५–१ ले हरायो ।
सेमिफाइनलमा राप्तीबाट सुरज सार्कीले दुई गोल गर्दा भूपेन्द्र कार्कीले १ गोल गरे । राप्तीले काउन्टर अट्याक गर्दै डिफेन्स र गोलकिपरको तालमेल नमिलेको अवस्थामा खेल शुरु भएको ५ मिनेटमै भूपेन्द्रले गोल गर्दै १–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि राप्तीले थप दुई गोल थप्यो । खेलको ६१ औं मिनेटमा पेनाल्टी बक्समा गोलकिपरले बल नियन्त्रणमा लिन नसकेपछि सुरजले बललाई जाली चुमाए । खेलको ७७ औं मिनेटमा तेस्रो गोल पनि सुरजले गरे । सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका सुरजले लगातार दुई गोल गरेपछि राप्तीलाई फाइनल यात्रा सहज बन्यो ।
दोस्रो सेमिफाइनलमा साबिक विजेता घोराहीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप ३ गोल गर्दा १ गोल खायो । पहिलो हाफको ३० औं मिनेटमा प्रमोद बुढाले गोल गर्दा अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा सुशील बानियाँले अर्को गोल गरे ।
खेलको ६१ औं मिनेटमा विक्रम घर्तीले गोल गर्दा ८४ औं मिनेटमा सुशील बानियाँले अर्को गोल थपे । खेलको इन्जुरी समयमा बिक्रम घर्तीले अर्को एक गोल गर्दै ५ गोल पुर्याउँदा गढवाका शिव कुमालले दोस्रो हाफको ७८ औं मिनेटमा एक गोल गरे ।
साबिक विजेता घोराही र राप्ती गाउँपालिकाबीच बुधबार उपाधिका लागि प्रतिस्पर्धा हुने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए ।
विजेताले १ लाख ५० हजार र उपविजेताले ८० हजारसहित ट्रफी जित्नेछन् ।
