तिलोत्तमा — रुपन्देहीमा पूर्व महिला क्रिकेट खेलाडीबीच ‘महिला लेजेण्ड सिरिज’ हुँदैछ । आज र भोलि गरी दुई दिनसम्म सिद्धार्थ क्रिकेट मैदानमा हुने नेपालकै पहिलो सिरिजमा देशैभरबाट पूर्व महिला क्रिकेटर भैरहवा आएका छन् ।
पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको दुई टिम बनाएर खेल खेलाइने प्रतियोगिता संयोजक नितु थापाले बताइन् ।
‘सन् २००७ र २००९ खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरु प्रतियोगितामा स्पर्धा गर्नेछन्’, उनले भनिन्, ‘१७ वर्ष पछि हामी खेलाडी एउटै मैदानमा जम्मा भई मैत्रीपूर्ण खेल खेल्न लागेका हौं ।
टि–२० फर्म्याटमा खेलाइने उक्त सिरिजमा सहभागी हुन सन् २००७ को राष्ट्रिय टिमका खेलाडी नेरी थापा मगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढा मगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवरको एउटा टिम बनाइएको छ ।
यस्तै, सन् २००९ को टिमका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, नीमा महर्जन, करुणा भण्डारीको अर्को टिम बनाइएको छ । केही अपुग खेलाडीहरु स्थानीयस्तरका सहभागी गराइने समेत उनले जानकारी दिइन् ।
