कास्की — सीईसी (क्रिकेट एक्सिलेन्स सेन्टर) काठमाडौं दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा पोखरा महानगर क्रिकेट क्लबमाथि ९ विकेटको जित निकालेर काठमाडौं समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।
पोखराले दिएको ५४ रनको लक्ष्य काठमाडौंले ४ ओभर २ बलमा पूरा गर्यो । काठमाडौंले १ विकेट गुमाएर ५७ रन बनायो । काठमाडौंको जितमा रित गौतमले सर्वाधिक ३६ रन बनाए । उनले १५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र रावतले १९ र शिवम् तिवारी २ रनमा नटआउट रहे । दीपेन्द्रले ८ बलमा २ छक्का र १ चौका जोडे । पोखराका सुवास बास्तोलाले १ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको पोखरा १७ ओभर २ बलमा ५३ रन बनाएर अलआउट भएको थियो । पोखराको यो लगातार तेस्रो हार हो । पोखराका लागि कबिन सापकोटाले सर्वाधिक १२ रन बनाए । कबिनले २० बलमा १ चौका प्रहार गरे । उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अशेष न्यौपाने ९, विष्णुप्रसाद शर्मा ५, साहिल पौडेल ४, प्रमोद बास्तोला, अभिनव शाह र मार्सल बरालले समान ३/३ रन बनाए । सुमित श्रेष्ठ र अन्जन केसीले २/२ रन जोडे । ३ बल खेलेका सुवास बास्तोलाले रन बनाउन सकेनन् ।
काठमाडौंका लागि युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावतले ३/३ विकेट लिए । सूर्य तामाङले २, मनोज यादव र अहोक बोहोराले १/१ विकेट लिए । दीपेन्द्र प्लेयर अफ द म्याच बने । उनले ५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाएका छन् ।
प्रतियोगितामा लगातार ३ खेल जितेर काठमाडौं ६ अंकसहित सेमिफाइनल पुगेको हो । काठमाडौंले पहिलो खेलमा हेटौंडा स्पोर्टस् एकेडेमी र दोस्रो खेलमा स्याङ्जा क्रिकेट क्लबलाई पराजित गरेको थियो ।
