जितपुर सिमरा गोल्डकप : साबिक विजेता पुलिस पराजित, मच्छिन्द्र सेमिफाइनलमा

चैत्र २५, २०८१

लक्ष्मी साह

Jitpur Simra Gold Cup: Former champions Police defeated, Machindra in semi-finals

बारा — सिमरा रंगशालामा जारी १५ औं जितपुर सिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा साबिक विजेता नेपाल पुलिस क्लबलाई पन्छाउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गरेको हो । सेमिफाइनलमा प्रवेश गरेको मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनारको मुख्य भूमिका रह्यो । खेलको म्यान अफ दि म्याच बनेका विशालले टाइब्रेकरमा पुलिसको अन्तिम महत्त्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए । 

टाइब्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो ।

पुलिसका लागि गोलरक्षक अमित टमाटा, पूजन राई र कप्तान मानबहादुर परियारले गोल गर्ने अवसर पाएका थिए । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोस्टभन्दा परबाट बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बाहिर पठाए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल प्रहरीको विभागीय टोली प्रतियोगिताबाट अलग भएको थियो । 

पुलिसले विवेक पाण्डेको फ्रि–किक गोलबाट दोस्रो हाफको सुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो । करिब २५ यार्ड परबाट विवेक पाण्डेले प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएको थियो । 

खेलको ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पार्‍यो । अरुण गाहाको प्रहारलाई पुलिसको डिबक्सभित्र नियन्त्रणमा लिँदै अनिल रानामगरले दिएको सर्ट पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए । 

खेलको १७ औं मिनटमा पुलिसका अरुण गाहाको उत्कृष्ट प्रहार मच्छिन्द्रका डिफेन्ड आशिष श्रेष्ठले गोल लाइनबाट जोगाएका थिए । अनुप लिम्बूले बनाएको आकर्षक प्रहारलाई पञ्चिङ गरेर मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले जोगाएका थिए । गोलपोस्ट खाली रहेको अवस्थामा रिबाउण्ड बलमा पुलिसका अरुण गाहाको प्रहारलाई मच्छिन्द्रका डिफेन्डर आशिष श्रेष्ठले हेडिङमार्फत गोललाइनबाट क्लिएर गरेका थिए । 

खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले आकर्षक अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमित टमाटाले उत्कृष्ट बचाउ गरे ।

खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको सशक्त प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बचाउन सफल भए । मानबहादुर परियारको फ्रि–किक प्रहारलाई रोक्दै विकास विकले प्रविणका लागि डिबक्सभित्रै आकर्षक अवसर दिलाएका थिए ।  

खेलको ग्रिन इनर्जी–म्यान अफ दि म्याच घोषित भएका मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले १० हजार नगदसहित ट्रफि हात पारे । सोमबार अन्तिम क्वाटरफाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्दै छन् । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully