लुम्बिनी प्रदेश स्तरीय क्रिकेटमा दाङ, कपिलवस्तु, रूपन्देही र गुल्मी विजयी

चैत्र २५, २०८१

दुर्गालाल केसी

Dang, Kapilvastu, Rupandehi and Gulmi won in Lumbini state level cricket

दाङ — लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा दाङ, कपिलवस्तु, रूपन्देही र गुल्मी विजयी भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा सोमबारदेखि लमहीस्थित देउखरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीस्थित घोराही त्रिकेट रंगशालामा एकै पटक खेलहरू सुरु भएका छन् ।

पहिलो दिनको खेलअन्तर्गत घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा दाङले रोल्पाविरुद्ध प्रभावशाली जित हासिल गर्दा दोस्रो खेलमा प्यूठानविरुद्ध कपिलवस्तुले ९ विकेटको सहज जित निकाल्यो । 

उता लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो खेलमा नवलपरासीविरुद्ध रूपन्देहीले ८४ रनको जित हासिल गर्दा दोस्रो खेलमा गुल्मीले अर्घाखाँचीविरुद्ध ५ विकेटको जित दर्ता गरेको छ । जितसँगै चारवटै टिम प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङ ४ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा २७ रन बनाउँदै क्वार्टरफाइनलमा पुगेको छ । दाङका लागि कप्तान सुशान्तसिंह थापाले १३ बलमा ३ चौकासहित १३ रन र आकाश पाण्डेले १३ बलमा ३ चौकासहित १४ रन जोड्दै सहज जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले बिर्सनलायक प्रदर्शन गर्यो । १० दशमलव ४ ओभरमा सबै विकेट गुमाएर जम्मा २५ रन बनाएको रोल्पाका लागि दुर्गेश पुरीले सबैभन्दा धेरै १३ रन जोडे । आकाश गुरुङले २ रन र अक्रम अलीले २ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् । रोल्पाका ९ खेलाडी बोल्ड आउट भएका थिए ।

रोल्पाको ब्याटिङ लाइनअप धराशयी पार्न दाङका स्पिनरद्वय शुभम खनाल र किशन भारतीले घातक बलिङ गरे । शुभम खनालले १ दशमलव ४ ओभर बलिङ गर्दै जम्मा २ रन खर्चेर ३ विकेट लिँदा एक जनालाई रन आउट गरेका थिए ।

किशन भारतीले २ ओभर बलिङ गर्दै ४ रन खर्चेर ३ विकेट हात पारे । दाङका लागि वीरबहादुर घर्तीले २ मेडन ओभर गर्दै १ विकेट लिए । दिनेश बोहराले २ ओभरमा १ मेडनसहित ३ रन दिएर १ विकेट लिँदा करण जीएमले १ ओभरमा १ रन दिएर १ विकेट लिए । कसिलो बलिङ गर्दै रोल्पालाई कम रनमा अलआउट गराउन महत्वपूर्ण भूमिका खेलेका दाङका शुभम खनाल प्लेयर अफ द म्याच भए ।

घोराहीको मैदानमा भएको अर्को खेलमा प्यूठानविरुद्ध कपिलवस्तुले ९ विकेटको सहज जित हासिल गर्यो । प्यूठानले दिएको ५७ रनको सामान्य लक्ष्य कपिलवस्तुले पाँच दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कपिलवस्तुका लागि रम्जान अली धुनिया र रौनक श्रीवास्तवले विजयी पारी खेले ।

पवनकुमार गुप्ता पाँच बलमा दुई रन बनाएर विनोद पाण्डेको बलमा बोल्ड आउट भए पनि रम्जान अली धुनियाले १६ बलमा पाँच चौकासहित अविजित २७ रन बनाउँदा रौनक श्रीवास्तवले पनि १२ बलमा चार चौकासहित अविजित २३ रन बनाउँदै कपिलवस्तुलाई ९ विकेटको सहज जित दिलाए । प्यूठानका विनोद पाण्डेले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्यूठानले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनायो । ४३ रन बनाउँदा ४ विकेट गुमाएर खेलिरहेको अवस्थामा प्यूठानका ब्याटर सम्हालिन नसक्दा थप १३ रन जोड्दा अलआउट भयो । प्यूठानका लागि राजकुमार विष्टले १४ रन जोडे । प्रीतम श्रेष्ठ र सुचित महताराले समान ८–८ रन जोड्दा सुरवीर मल्लले ७ रन बनाए । 

प्यूठानलाई सस्तैमा समेट्न गोविन्द थारुले चार ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । यसैगरी, मुहम्मद हुसेन, महेश भार, शिव कुँवर, आकाश त्रिपाठी र रमेशकुमार पाठकले समान १–१ विकेट लिए । कपिलवस्तुलाई जित दिलाउन महत्वपूर्ण ४ विकेट लिएका गोविन्द थारु प्लेयर अफ द म्याच भए ।

लमहीमा भएको पहिलो खेलमा नवलपरासीविरुद्ध रूपन्देहीले ८४ रनको जित हासिल गर्यो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटिएपछि रूपन्देहीले ८४ रनको सानदार जित हासिल गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

नवलपरासीका लागि ओमकार यादवले सर्वाधिक ३१ रन जोडे । ओमकारले २२ बलमा २ छक्का र २ चौकाको मद्दमा २१ रन जोड्दै विपर्शन केसीको बलमा बोल्ड आउट भए । नवलपरासीका दिलीप कुर्मीले ११ रन जोड्ने बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । मनीष तिवारी ५ रन, हिल्सन पाण्डे र शिशिर थापाले समान ४–४ रन जोडे ।

नवलपरासीलाई सस्तैमा समेट्न रूपन्देहीका रमेश कुर्मीले महत्त्वपूर्ण चार विकेट चट्काए । उनले चार ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । विपर्शन केसीले ३ ओभरमा १२ रन दिएर २ विकेट लिँदा कृष्ण कार्कीले ३ दशमलव ४ ओभरमा २ विकेट लिए । अजय चौहानले ४ ओभरमा १७ रन दिएर १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको रूपन्देहीले प्रज्वल थापाको अर्धशतक मद्दतमा १४६ रन बनाएको थियो । प्रज्वलले ३७ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५० रन जोड्दै इक्लाक अहमद वारसीको बलमा कट एण्ड बोल्ड भए । मनीष थापाले २१ बलमा १ चौकासहित १६ रन, सुमन पाण्डेले १३ बलमा २ चौकासहित १५ रन जोडे । अजय चौहान र कप्तान देव खनालले समान १२–१२ रन जोडे । मृनाल गुरुङ १० रन जोडेर पेभेलियन फर्किंदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

नवलपरासीका लागि इक्लाक अहमद वारसीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी, दिलीप कुर्मी, जितेन्द्र केवट सहनी, शिशिर थापा, यमन भण्डारीले समान १–१ विकेट लिए । रूपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।

लमहीमा भएको दोस्रो खेलमा अर्घाखाँचीविरुद्ध गुल्मीले ५ विकेटको जित हासिल गरेको छ । अर्घाखाँचीले दिएको ८४ रनको मध्यम लक्ष्य गुल्मीले १५ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै जित दर्ता गर्यो ।

गुल्मीका लागि सम्राट थापाले २९ बलमा २ चौकासहित अविजित २० रन जोडे । यसैगरी, लक्ष्मण घिमिरे ५ रनमा अविजित रहँदा विक्रम गौतम १७ रन बनाएर सुप्रिम सुनारको बलमा बोल्ड भए । संगम न्यौपाने ११ रन, त्रिदेव कार्की १० रन र विवेक भण्डारीले ८ रन बनाए ।

अर्घाखाँचीका मनोज भुसालले ३ विकेट हात पार्दा बाबुराम थापा र सुप्रिम सुनारले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको अर्घाखाँचीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । अर्घाखाँचीका लागि ओपनर विशेष भाटले सर्वाधिक ३६ रन बनाए । उनी ४० बलको सामना गर्दै ३ चौकाको मद्दतमा ३६ रन जोड्दै रनआउट भए । रोशन घिमिरे ३० बलमा १३ जोड्दै त्रिदेव कार्कीको बलमा बोल्ड भए । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अर्घाखाँचीलाई मध्यम लक्ष्यमा रोक्न गुल्मीका रामचन्द्र टण्डनले चार ओभर बलिङ गर्दै जम्मा ९ रन दिएर ६ विकेट लिए । त्रिदेव कार्की, सुरज सारु र प्रदीप भण्डारीले समान १–१ विकेट लिए । गुल्मीका लागि जितको आधार तय गरेका ६ विकेट टेकर रामचन्द्र टण्डन प्लेयर अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत मंगलबार सेमिफाइनलका खेल हुनेछन् । 

लुम्बिनीका रुकुमपूर्व बाहेक ११ जिल्लाका खेलाडी प्रतियोगिता खेल्न दाङ आएका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रूपमा प्रतियोगिता आयोजना गर्न सम्भव भइरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले बताए ।

चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य–सचिव तिरनदाज गौतमले बताए । प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका थिए । नेपालमा पछिल्लो समय क्रिकेटको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले यसको विकासका लागि पूर्वाधार विकाससँगै खेलकुदका गतिविधि चलायमान बनाउन सरकारले ध्यान दिएको बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully