फोर नेसन्स कप खेल्न बक्सिङ टोली थिम्पूतिर

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Boxing team to Thimphu to play Four Nations Cup

काठमाडौँ — फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली टोली सोमबार भुटानको थिम्पू गएको छ ।अप्रिल ११ देखि १३ सम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती र ५१ केजीमुनि तौल समूहमा चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले भाग लिने छन्

अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुष्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै बिदाइ गरे ।

बक्समान्डुका तीन खेलाडी

सोही प्रतियोगितामा बक्समान्डु बक्सिङ जिमले पनि ३ खेलाडी पठाएको छ । बक्सिङ महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको महासचिव मानबहादुर भण्डारीले बताए ।

पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रबल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले भाग लिने छन् । प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।

दुवै टोलीले थिम्पूमै अप्रिल ८ देखि १० सम्म हुने प्रशिक्षण सिविरमा सहभागिता जनाउने छ ।

कान्तिपुर

Link copied successfully