भैरहवा — लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट च्याम्पियनसीपका लागि रुपन्देहीबाट देव खनालको कप्तानीमा टीम घोषणा गरिएको छ। रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्री संयोजकत्वको छनोट समितिले खनालको कप्तानीमा १४ जना खेलाडी छनोट गरेको जनाएको छ।
प्रदेश खेलकुद परिषद, लुम्बिनी प्रदेशको आयोजनामा सोमबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय र गुलरिया क्रिकेट मैदान, घोराहीमा उक्त प्रतियोगिता सञ्चालन हुँदैछ ।
छनोट समिति संयोजक क्षेत्रीले खेलाडीको अहिलेसम्मका प्रदर्शनका आधारमा रुपन्देही जिल्लास्तरीय टीम छनोट गरिएको जानकारी दिए। प्रतियोगितामा रुकुम पूर्व बाहेकका ११ जिल्ला सहभागी हुँदैछन् ।
दुई समूहमा विभाजन गरी खेलाउन लागिएको प्रतियोगिताको समूह ‘ए’मा बाँके, रुपन्देही, पश्चिम नवलपरासी, गुल्मी, अर्घाखाँची र बर्दिया छन् । यस्तै, समूह ‘बी’मा पाल्पा, दाङ, रोल्पा, प्यूठान र कपिलवस्तु जिल्लाका टीम समावेश छन् ।
यही चैत्र २५ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीले सोमबार पहिलो खेल लमहीमा पश्चिम नवलपरासीसँग खेल्नेछ ।
रुपन्देहीको टीम
देव खानल (कप्तान), मिर्नाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, संदीप मौर्य, सुमन पाण्डे, कृष्ण कार्की, विप्रसन केसी, सन्देश थापा, अजयकुमार चौहान, रमेश कुर्मी, सुरज खड्का, आशुतोष पाण्डे र रञ्जित मौर्य छन् । यस्तै, टीम प्रशिक्षकमा कृष्ण कुँवर र व्यवस्थापकमा विजयसिंह ज्ञवाली रहेका छन् ।
