एनएसएलमा पोखरा विजयी

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

Pokhara wins in NSL

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार अघिल्लो संस्करणका विजेता ललितपुर सिटी र उपविजेता धनगढी एफसीले गोलरहित बराबरी खेल्दा पोखरा थन्डर्सले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलबाट ललितपुर र धनगढीले १–१ अंक बाँडे । ललितपुरले ३ खेलबाट ५ अंक बनाएको छ । साबिक विजेता ललितपुरले यसअघि काठमाडौंसँग पनि २–२ को बराबरीमा खेलेको थियो भने अर्को खेलमा पोखरा थन्डर्समाथि ३–२ ले जिते पाएको थियो ।

धनगढीले २ खेलबाट ४ अंक जोडेको छ । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई ४–१ ले हराएको थियो । धनगढीले पहिलो खेलको गोलको लय भने ललितपुरविरुद्ध कायम गर्न सकेन । ललितपुरले पनि गोल अवसर सिर्जना गरे पनि उपयोग गर्न पाएन । पहिलो हाफको पाँच मिनेट बाँकीमा दुवै टोलीका खेलाडीबीच विवाद हुँदा रेफ्री प्रज्ज्वल क्षेत्रीले पहेँलो कार्डको वर्षा नै गरे । ललितपुरका दुई खेलाडी सनिश श्रेष्ठ र पापा केबे, धनगढीका एक खेलाडी मोहम्मद एल जे र प्रशिक्षक हुँवा मार्टिनेजलाई पहेँलो कार्ड दिइएको थियो । 

दिनको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्सलाई २–० ले हराएको थियो । तेस्रो खेलमा जितको स्वाद पाएको पोखराले यसअघि लगातार दुई खेल हारेको गुमाएको थियो । ललितपुरसँगको दोस्रो खेल तनावपूर्ण बनेको थियो । जुन खेल पोखराले २–१ ले हारेको थियो । 

पोखरा पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो । काठमाडौको पहिलो हार हो । ३ खेलबाट काठमाडौंको मात्र २ अंक छ । यसले काठमाडौंको प्लेअफ यात्रा कठिन बनेको छ । ललितपुरसँग २–२ गोलको बराबरी खेलेको काठमाडौंले झापा एफसीसँग गोलरहित खेलेको थियो । 

शनिबार रंगशालामा पोखराले २५ औं मिनेटमा गोलको अग्रता बनाएको थियो । साइडस्टोन जाफ्रोले मिलाइदिएको बलमा स्टेफन समीर बिनोङले हेडर गोल गरेका थिए । दोस्रो गोल ५८ औं मिनेटमा भएको थियो । पोखराका आयुष घलानले विपक्षी डिफेन्डर बिट गरी दिएको क्रसमा सुदील राईले प्रहार काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

पहिलो हाफमै पोखराले पेनाल्टी चुकाएको थियो । ३३ औं मिनेटमा काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन समिरलाई बक्सभित्र लडाएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी अवसर दिएका थिए । तर समिरको पेनाल्टी प्रहार गोलरक्षक अभिषेक बरालले डाइभ हानेर बचाएका थिए । काठमाडौंले सुरुआतमै केही राम्रो मौका गुमाएको थियो । 

आइतबार झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully