प्रदेशस्तरीय भलिबलमा विजयी खेलाडीलाई सम्मानसहित नगर परिक्रमा 

चैत्र २४, २०८१

माधव अर्याल

Nagar parikrama with honor to the winning players in state level volleyball

पाल्पा — प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीलाई आइतबार तानसेनमा सम्मानसहित नगर परिक्रमा गराइएको छ । 

प्रदेश खेलकुद परिषद्‍ले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ प्रथम र पुरुषतर्फ द्वितीय स्थान हासिल गरेका पाल्पाका खेलाडीलाई जिल्ला भलिबल संघ पाल्पा र तानसेन नगरपालिकाले सम्मान गरेको हो । पाल्पा भलिबल संघले पञ्चेबाजासहित खेलाडीलाई बजार परिक्रमा गराएको छ । 

खेलाडीलाई हौसला प्रदान गर्न तानसेन बजार क्षेत्रमा पञ्चेबाजासहित नाचगान गर्दै परिक्रमा गराइएको जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रवक्ता यादवसिंह कार्की, जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक घिमिरेलगायतले फूलमाला, अबिर लगाएर सम्मान गरेका छन् । पाल्पाका प्रायः सबै पालिकाबाट सहभागिता जनाएर जिल्लाको नाम राख्दा राष्ट्रियस्तरमै पहिचान कायम गरेको नगर प्रमुख श्रेष्ठले बताए । 

Nagar parikrama with honor to the winning players in state level volleyball

यही चैतको २० देखि २३ गतेसम्म दाङको घोराहीमा सम्पन्न महिला भलिबलमा पाल्पाले प्रथम स्थान हासिल गरेर १ लाख नगद पुरस्कार पाएको छ । पाल्पाले रुपन्देहीलाई फाइनलमा ३–२ को सेटमा हराएको थियो । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पाल्पाकी कप्तान जीना राना भएकी थिइन् भने उत्कृष्ट सर्बरमा पाल्पाकै दुमीसरा सारु, उत्कृष्ट डिफेन्समा पाल्पाकी दुर्गासरा गाहा र उत्कृष्ट ब्लकरमा पाल्पाकै बिनिता राना भएर जिल्लाको नाम राख्न सफल भएको भलिबल संघका पाल्पा महासचिव कृष्ण आलेले बताए । अर्घाखाँचीमा सम्पन्न प्रदेशस्तरीय पुरुष भलिबलमा पाल्पाले दोस्रो स्थान हासिल गर्दै ६५ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाएको थियो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले खेलाडीलाई हौसला बढाउन समिति जहिले तयार रहेको र त्यसका लागि भलिबल संघले समन्वय गरेर अघि बढ्न आग्रह गरे । नगर परिक्रमा तथा सम्मान कार्यक्रममा राष्ट्रिय खेलाडीका साथै रेफ्री एवं खेलाडीको सहभागिता थियो । 

Nagar parikrama with honor to the winning players in state level volleyball

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully