लगातार दुई खेल जितेसँगै काठमाडौंको सेमिफाइनल सम्भावना बलियो
कास्की — पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगितामा हेटौंडा स्पोर्टस् एकेडेमी र सीइसी काठमाडौं विजयी भएका छन् । आइतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको समूह ‘ए’का टिमबीचको खेलमा हेटौंडाले पोखरा महानगर क्रिकेट क्लब र काठमाडैंले स्याङ्जा क्रिकेट क्लबलाई पराजित गरेको हो ।
पहिलो खेलमा ७२ रनको सामान्य लक्ष्य पछ्याएको हेटौंडाले पोखरालाई ४ विकेटले हरायो । हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाएर ७६ रन बनायो । हेटौंडाका लागि ओपनर गौरव खड्काले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३४ रन बनाए । रामनरेश गिरी १४ र अकिलेश ठाकुर ८ रनमा नटआउट रहे । सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बस्ताकोटी ४ रनमा आउट भए । शुभ कंशाकार र युबिन बुढाथोकीले रन जोड्न सकेनन् । पोखराका लागि सुवास बास्तोला र अन्जन केसीले समान २/२, समिर भुजेल र मार्सल बरालले समान १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको पोखरा १६ ओभर ५ बलमा अलआउट भएको थियो । पोखराका लागि सुमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका प्रहार गरे । प्रमोद बास्तोलाले २२ र ओपनर दीपक बरालले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । धीरज अधिकारी २, कबिन सापकोटा, मार्सल बराल र सुवास बास्तोला १/१ रन बनाएर आउट भए । मार्सल र कबिन रनआउट भएका थिए । पोखराका विष्णुप्रसाद शर्मा, साहिल पौडेल र अन्जन केसीले रन बनाउन सकेनन् । हेटौंडाका लागि असिम श्रेष्ठ र अकिलेश ठाकुरले समान ३/३ र सांसद अली मन्सुरीले २ विकेट लिए । हेटौंडाका असिम प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा काठमाडौंले स्याङ्जामाथि ७ विकेटको जित निकाल्यो । १ सय २७ रनको लक्ष्य पाएको काठमाडौंले १४ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । काठमाडौंका लागि दीपेन्द्र रावतले सर्वाधिक ४९ रन जोडे । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रित गौतमले २३ बलमा ३८ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । पृथु बास्कोटा २१ र अर्जुन घर्ती ७ रनमा नटआउट रहे । स्याङजाका लागि अश्वोनी रानाले २ र किरण भट्टराईले १ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । ओपनर करण पंगेनी १४ रनमा आउट भए । ईश्वर क्षेत्रीले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नटआउट रहे । विशाल कोइराला १७, सुजन गौतम ११, मिलन क्षेत्री ३, अश्वोनी राना २ र सन्दीप खत्री क्षेत्री १ रनमा आउट भए । काठमाडौंका दीपेन्द्र रावतले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा एक मेडनसहित ११ रन खर्चिएका दीपेन्द्र प्लेयर अफ द म्याच बने । काठमाडौंका मनोज यादव, युनिशविक्रम सिंह र सूर्य तामाङले समान १/१ विकेट लिए ।
लगातार दुई खेल जितेको काठमाडौंले शीर्ष स्थानमा रहेर सेमिफाइनल सम्भावना बलियो बनाएको छ । ४ अंकसहित शीर्ष स्थानमा रहेको काठमाडौंले सोमबारको पहिलो खेलमा समूह ‘ए’कै पोखरासँग खेल्नेछ । पोखरासँग पराजित भएमा हेटौंडा र स्याङ्जाको पनि अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना रहनेछ । प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेल हेटौंडा स्पोर्टस् एकेडेमी र स्याङ्जा क्रिकेट क्लबबीच खेल हुनेछ । हेटौंडा र स्याङ्जा समान एक/एक खेल जितेर अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । दुवै खेलमा पराजित भएको पोखरा समूहको अंक तालिकाको पुछारमा छ ।
वैशाख ३ सम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रूपैयाासहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्लेयर अफ द म्याचले ५ हजार रूपैयाँसहित ट्रफी पुरस्कार पाउँछन् । म्यान अफ द सिरिजलाई ३० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २०/२० हजार रूपैयाँसहित ट्रफी पुरस्कार राखिएको छ ।
