काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार विश्व शान्तिको प्रतीक स्वयम्भूको विश्व स्तुपामा दिप प्रज्ज्वलन गरी स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाएको छ । एनओसीले पछिल्ला वर्षमा स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवसमा प्रत्येक वर्ष लुम्बिनीमा मनाउँदै आएको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले हरेक वर्ष लुम्बिनीमा यो कार्यक्रम आयोजना गर्दै आएको तर यस वर्ष लुम्बिनीमा पिस म्याराथन र इन्टरनेसन योग दिवस अगाडि नै आयोजना भएकोले यसपटक बुद्ध स्तुपाको अगाडि यो दिप प्रज्ज्वल कार्यक्रम गरेको बताउनुभयो । पाँच महादेशलाई प्रतिनिधित्व गर्ने ओलम्पिकको पाँच रिङ बनाएर दिप प्रज्वलन गरिएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइसिसी)को प्रस्तावमा संयुक्त राष्ट्र संघको आह्वानमा खेलको माध्यमबाट विकास र शान्तिको लागि खेलकुद भन्ने संकल्पसहित विश्वमै यो कार्यक्रम मनाउँदै आएको जानकारी पनि एनओसी अध्यक्ष श्रेष्ठले दिनुभयो । ‘नेपाल बुद्धको जन्मको देश, बुद्धले विश्वमा शान्तिको सन्देश दिने काम गरेकोले पनि स्वयम्भूका विश्व स्तुपाको अगाडि यो कार्यक्रमको आयोजना गरेका हौँ’ अध्यक्ष श्रेष्ठको भनाइ छ । सो अवसरमा उहाँले खेलको माध्यमबाट समाजलाई रुपमान्तरण र विकास गर्न सकिन्छ, शान्तिलाई दिगो बनाउन सकिन्छ तथा समझदारी बढाउन सकिन्छ भन्ने खेलकुदको उद्देश्य र भूमिकालाई स्मरण गर्दै यो कार्यक्रमको आयोजना गरेको जानकारी पनि दिनुभयो ।
स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा एनओसी परिवारका साथै राष्ट्रिय संघका अध्यक्ष तथा पदाधिकारी, खेलाडीहरु, जनप्रतिनिधि, स्थानीय क्लब र जनसमुदायको उपस्थिति रहेको थियो ।
