चेन्नई १५ वर्षयता पहिलो पटक गृहमैदान चेपकमा दिल्लीबाट पराजित
चेन्नई — दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । केएल राहुलको अर्धशतकप्रेरित दिल्लीले शनिबार चेन्नई सुपर किंग्सलाई उसैको मैदानमा २५ रनले पराजित गर्यो । दिल्लीले चेन्नईलाई चेपकमा पराजित गरेको १५ वर्षयता पहिलो हो ।
ओपनर राहुलले ५१ बलमा ७७ रन बनाएपछि दिल्लीले ६ विकेट गुमाई १ सय ८३ रन बनायो । प्लेयर अफ द म्याच राहुलले ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर ज्याक फ्रेसर म्याकगुर्क पहिलो ओभरमै शून्यमा आउट भए पनि राहुलले इनिङ्स तानेका थिए ।
उनलाई साथ दिँदै अभिषेक पोरेलले २० बलमा ४ चौका र १ छक्कासहित ३३, अक्षर पटेलले १४ बलमा २ चौका र १ छक्कासहित २१, समिर रिज्भीले १५ बलमा २० र ट्रिस्टन स्टब्सले १२ बलमा २ चौका र १ छक्कासहित अविजित २४ रन बनाए । चेन्नईबाट खलिल अहमदले २, रवीन्द्र जडेजा, नुर अहमद र माथिसा पाथिरानाले १–१ विकेट लिए ।
अघिल्ला खेलहरूमा चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले कम बल खेलेकाले नतिजामा प्रभावित परेको समर्थकको गुनासो थियो । तर शनिबार ११ औं ओभरमा आउँदा पनि चेन्नईको नतिजामा कुनै परिवर्तन आएन र टोली लगातार तेस्रो खेलमा पराजित हुन पुग्यो ।
अविजित रहेका विजय शंकर र धोनीले आवश्यक प्रतिओभर रन बनाउन नसक्दा चेन्नईले ५ विकेट गुमाई १ सय ५८ रनमात्र बनायो । विजयले ५४ बलमा ६९ र धोनीले २६ बलमा ३० रनमात्र बनाउन सके । विजयले ५ चौका र १ छक्का तथा धोनीले समान १ चौका र छक्का प्रहार गरे । रचिन रवीन्द्र ३, डेभोन कोनवे १४ बलमा १३, कप्तान ऋतुराज गायकवड ५, शिवम दुवे १८ र जडेजा २ रनमा आउट भए । दिल्लीका विपराज निगमले २ विकेट लिए ।
पन्जाबको पहिलो हार
मुल्लानपुर– दिल्लीजस्तै पहिलो दुई खेल जितेको पन्जाब किंग्स शनिबार राजस्थान रोयल्ससँग ५० रनले पराजित भएको छ । तेस्रो खेलमा आएर पहिलो हार भोगेपछि पन्जाब चौथो स्थानमा झरेको छ । पहिलो दुई खेलमा पराजित राजस्थान त्यसपछिका दुई खेल जित्दै सातौं स्थानमा उक्लेको छ ।
२ सय ६ रनको लक्ष्य पाएको पन्जाबले ९ विकेट गुमाई १ सय ५५ रनमात्र बनाउन सक्यो । जोफ्रा आर्चरले इनिङ्सको पहिलो बलमै प्रियांश आर्यलाई बोल्ड गरेका थिए । त्यसपछि आएका कप्तान श्रेयस ऐरले आर्चरको उक्त ओभरमा २ चौका प्रहार गरे । तर सोही ओभरको अन्तिम बलमा आर्चरले ऐरलाई १० रनमा बोल्ड गरेका थिए ।
सन्दीप शर्माले मार्कस स्टोइनिसलाई १ रनमा कट एन्ड बोल्ड गरे । ओपनर प्रवसिमरन सिंह १६ बलमा १७ रन बनाई आउट भए । नेहल वाधेरा र ग्लेन म्याक्सवेलले पाँचौं विकेटमा ८८ रनको साझेदारी गर्दै पन्जाबलाई आशा देखाएका थिए । म्याक्सवेललाई महेश थिक्सानाले ३० रनमा आउट गरे । म्याक्सवेलले २१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
वाधेराले सर्वाधिक ६२ रन बनाए । उनले ४१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । राजस्थानबाट आर्चरले ३ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा २५ रनमात्र खर्चेका थिए । सन्दीपले ४ ओभरमा २१ र थिक्सानाले ४ ओभरमा २६ रनमात्र खर्चेर २–२ विकेट लिए । कुमार कार्तिकेय र वानिन्दु हसरंगाको नाममा १–१ विकेट रह्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ४ विकेट गुमाई २ सय ५ रन बनाएको थियो । ओपनर यशस्वी जयसवालले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ६७ रन बनाए । कप्तान सञ्जु सामसनले २६ बलमा ३८, रियान परागले २५ बलमा अविजित ४३, नितिश रानाले १२, सिमरन हेटमायरले १२ बलमा २० र ध्रुव जिरेलले ५ बलमा अविजित १३ रन बनाएका थिए । पन्जाबबाट लकी फर्गुसनले २, अशरदीप सिंह र मार्को यानसेनले १–१ विकेट लिए ।
