मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट : भारतीय टोली १०७ रनले पराजित

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Mills Cup Indo-Nepal T-20 Cricket: Indian team defeated by 107 runs

विराटनगर — मिल्स क्रिकेट क्ल्व एण्ड एकाडेमी विराटनगरको आयोजनामा सुरु चौथो मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा शनिबार घरेलु टोली होराइजन क्रिकेट क्लबले पाहुना टोली भारतको प्रशान्त क्रिकेट क्लब (जोगवनी) लाई १०७ रनको विशाल अन्तरले पराजित गरेको छ । 

मिल्स खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको होराइजनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रनको विशाल योगफल खडा बनाएको थियो । टोलीका अलराउन्डर मीनाश थापाले ४० बल सामना गर्दै सर्वाधिक ५२ रन जोडे । अभिषेक कार्कीले १५ बलमा ४६,  फिरदोस अन्सारीले ४१ रन र अटल साहले ३२ रनको महत्वपूर्ण योगदान दिए । 

जवाफमा २ सय २० रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले १४ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय १२ रनमा समेटियो । जसमा अमन राजले २८ रन र आदित्य राजले १७ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । होराइजनका बलरहरूका सामु पाहुना टोलीका खेलाडी लगालग पेभेलियन फर्किए । राष्ट्रिय खेलाडी दिपेश कँडेलले ३ विकेट लिए । 

अर्का राष्ट्रिय खेलाडीहरु फिरदोस अन्सारी र मीनाश थापाले २/२ विकेट झारेर  विपक्षी टोलीको ब्याटिङ लाइनलाई ध्वस्त पारे । अर्धसतकीय पारी खेलेका मीनास ‘प्लेयर अफ द म्याच’ भए । उनले ३ हजार १ सय नगद पुरस्कार पाए । 

आइतबारको पहिलो खेल दिल्ली युथ क्लब (भारत) र फार्मेन्स क्रिकेट एकेडेमी पटना तथा दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णिया, भारतबीच हुने आयोजक समितिका सचिव शान्ता श्रेष्ठले जनाइन् । प्रतियोगिताका विजेताले २ लाख १ हजार तथा उपविजेताले १ लाख १ हजार पुरस्कार पाउने छन् । 

प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित प्रतियोगितामा भारतका ६ र डेढ दर्जन टोलीले भाग लिएका छन् । प्रतियोगिताका फाइनल आगामी चैत ३० गते हुनेछ । 

कान्तिपुर

Link copied successfully