दाङ — घोराहीमा सम्पन्न मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता–२०८१ को उपाधि पाल्पाले जितेको छ । शनिबार भएको फाइनल खेलमा पाल्पाले रुपन्देहीलाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।
प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा फागुन २० गतेदेखि घोराही-१५ सहिद मञ्चमा भएको प्रतियोगिताअन्तर्गत उपाधि भिडन्तमा पाल्पाले १९–२५, २५–२१, २५–१७, २५–२० र १५–८ अंकका साथ उपाधि हात पारेको हो । उल्लेख्य दर्शकको उपस्थितिमा भएको फाइनल खेलमा पाँच सेटको खेलबाट नतिजा निस्किँदा खेलाडीले पनि आफ्नो खेल कौशल प्रस्तुत गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा समूह ‘बी’ बाट लिग चरणका सबै खेल जित्दै पाल्पाले प्रतियोगितामा अपराजित रुपमा उपाधि हात पार्दा समूह ‘डी’ मा रहेको रुपन्देही पनि उपाधि नजिक पुगेर अपराजित यात्रामा बिश्राम लगाउँदै उपविजेतामा चित्त बुझाएको हो । प्रतियोगिताको उपाधि जितेको पाल्पाले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएको छ । उपविजेता बनेको रुपन्देहीले नगद ६५ हजार, शिल्ड, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाल्पाकी कप्तान जीना राना घोषित भएकी छन् । उनले पाल्पालाई उपाधि दिलाउन उत्कृष्ट खेल पस्किन् । उनले नगद १० हजारसहित प्रमाण पत्र प्राप्त गरेकी छन् ।
प्रतियोगिताभरि खेलेका खेलका आधारमा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी छनोट हुँदा पाल्पाकी कप्तान थापासहित चार जना पुरस्कृत हुन सफल भए ।
उत्कृष्ट सर्बरमा पाल्पाकी दुमीसरा थारु, उत्कृष्ट डिफेन्समा पाल्पाकी दुर्गासरा गाहा र उत्कृष्ट ब्लकरमा पाल्पाकै बिनिता राना घोषित भए । तीन जनालाई जनही नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटरमा दाङकी सीता विक र उत्कृष्ट स्पाइकरमा रुपन्देहीकी रीचा थापा घोषित भए । उनीहरुलाई पनि नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
यसअघि तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा बाँकेलाई ३–१ सेटले हराउँदै रोल्पा तेस्रो भएको छ भने बाँके सान्त्वना भएको छ । रोल्पाले बाँकेलाई २५–२३, २५–९, २४–२६ र २५–१८ अंकका साथ हराउँदै प्रतियोगिताको तेस्रो भएको हो ।
यसअघि, पहिलो सेमिफाइनलमा रोल्पा पाल्पासँग ३–१ को सेटमा पराजित भएको थियो भने दोसो सेमिफाइनलमा बाँके रुपन्देहीसँग ३–२ को सेटमा पराजित भएको हो । समूह ‘सी’ बाट खेलेको बाँकेले प्यूठान, कपिलवस्तु, रुकुम पूर्वलाई हराउँदै सेमिफाइनल पुगेको थियो भने समूह ‘ए’ बाट खेलेको रोल्पाले रुकुमपूर्व, गुल्मी र कपिलवस्तुलाई जित्दै सेमिफाइनल पुगेको थियो ।
तृतीय भएको रोल्पाले नगद ३५ हजारसहित मेडल, ट्रफी र प्रमाण–पत्र पाउँदा सान्त्वना भएको बाँकेले नगद १५ हजार, प्रमाण–पत्र प्राप्त प्राप्त गरेको छ ।
प्रतियोगितामा दाङसहित लुम्बिनीका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी सहभागी भएको प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तिरन गौतमले जानकारी दिए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएकामा यसबाट राम्रो सम्भावना भएका खेलाडी देखा परेको गौतमले बताए ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रतियोगितामा विजेता तथा उपविजेता टीमका खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
