जीतपुरसिमरा गोल्डकप : आयोजक नव जनजागृति अन्तिम चारमा

चैत्र २३, २०८१

लक्ष्मी साह

Jitpursimra Gold Cup: Host Nav Janajagruti in the last four

बारा — बाराको सिमरामा जारी १५औं जितपुर सिमरा गोल्डकपअन्तर्गत शनिबार भएको दोस्रो दिनको प्रतियोगितामा मोहित गुरुङको एक मात्र निर्णायक गोलको मद्दतमा आयोजक नव जनजागृति युवा क्लब सिमरा सेमीफाइनलमा प्रवेश गरेको छ । 

मकवानपुर हेटौंडाको टोली एन्फा मकवानपुरलाई चकित पार्दै मोहितले ८५ औं मिनटमा गोल गर्न सफल भएका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ्ग रेन्ज बलले सिधै गोलमा परिणत भएको थियो । हेटौंडाका गोल रक्षक टोपबहादुर रानाले बचाउको लागि कुनै चाल नै पाएनन् ।  

दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरु बनाए पनि मकवानपुरको एन्फाविरुद्ध जित निकाल्न अन्तिमसम्मै संघर्ष गर्नु परेको थियो । 

पहिलो हाफमा मकवानपुरले आयोजकविरुद्ध सुरुवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे ।

खेलको १८ औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोल रक्षक टोपबहादुर राना मगरले बचाए । साइरब तामाङको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए । 

खेलको ८० औं मिनटमा आयोजक सिमराले आकर्षक अवसर गुमाएको थियो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रस बारमा लागेर बाहिरियो । डिबक्सभित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले जोडदार प्रहार गरेका थिए । 

खेलको ग्रिन इनर्जी म्यान अफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनी मोटर्सका दिलिप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफि प्रदान गरे । आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

लक्ष्मी साह

Link copied successfully