त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी विजयी

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Homalal and Sunsari win Trishuli Ultra Race

काठमाडौँ — आर्मीका धावकद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकायाले ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेस उपाधि जितेका छन् ।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्डबाट दोस्रो र सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । आर्मीका तिलकबहादुर सुनवार, रुकुमका शक्तिराम रोक्का, त्रिशूलीका राजेश उपरकोटी, एपीएफका राजेन्द्र तामाङ, आर्मीका जुनेश खड्का, नबिल बैंकका शेर थारु र रुकुमका दुर्गाराज बुढा क्रमशः चौथोदेखि दसौं स्थानमा रहे ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्डबाट खोटाङकी निर्मला राई दोस्रो भइन् । तेस्रो भएकी पुलिसकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्ड लगाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले पुरस्कृत गरे ।  

मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनै पनि क्षेत्रको पर्यटकीय स्थलको प्रवर्द्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्दै प्रतियोगितालाई आगामी दिनमा बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए ।

अध्यक्ष कुँवरले खप्तडमा बृहत अल्ट्रा रेस आयोजनाको तयारीमा महासंघ अगाडि बढिरहेको जानकारी गराए । उनले त्रिशूली अल्ट्रा रेसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भई मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो । दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको दौडका संयोजक राजन खत्रीले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully