एरिकाको स्वर्णसहित नेपाललाई पाँच पदक

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Five medals for Nepal including Erica's gold

काठमाडौँ — नेपालकी एरिका गुरुङले अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन किराते च्यापियनशिपमा स्वर्ण पदक जितेकी छन् । शुक्रबार सुरु प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

हिमालयन वारियर नाम पाएकी एरिकाको सफलता निकै ठुलो भएको नेपाल किराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जनाए । उनका अनुसार २ महिनापछि उज्वेकिस्तानमा हुने एकेएफको वार्षिक प्रतियोगिता एरिकाका लागि अझै महत्त्वपूर्ण रहेको छ । 

दुई वर्ष अघि चीनमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकाले एसियन च्याम्पियनसिपमा पनि रजत नै जितेकी थिइन् ।  

सिड्नीमा ६७ केजी मुनीमा सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी वर्ष बुढा मगरले कांस्य पदक जितेका छन् । 

प्रतियोगितामा अस्ट्रेलियाबाट प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरूमा विजय श्रेष्ठले ६० केजी मुनिमा रजत तथा दिवस श्रेष्ठले ८४ केजी माथि र सोनाम लामाले ६० केजी मुनिमा कांस्य पदक जितेका छन् । 

प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अस्ट्रेलियाको सिड्नी गएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully