पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

चैत्र २३, २०८१

रासस

Construction of big infrastructure related to sports in Pokhara is necessary: ​​Communications Minister Gurung

कास्की — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताए ।

उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । 'यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ,' सञ्चारमन्त्री गुरुङले भने । 

पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, 'पोखरा जस्तो सुन्दर ठाउँमा अन्तरराष्ट्रियस्तरका रंगशाला बनाउनु पर्दछ । कूटनीतिक कारणले खेल पूर्वाधार महत्वपूर्ण छ । केही देशका लागि पोखरा सन्तुलित स्थान समेत बन्न सक्छ ।'

उनले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब,  प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याटरले जनही १० हजार र ‘प्लेयर अफ द म्याच’ले पाँच हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीले जनाएको छ । एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका नाममा प्रतियोगिता हो । 

रासस

Link copied successfully