भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई 

चैत्र २३, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup title to Namobuddha Saptari

धनकुटा — १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले हात पारेको छ । गाईघाट फुटबल क्लब उदयपुरलाई शनिबार अपराह्न फाइनल खेलमा ट्राइब्रेकरबाट ५–३ गोलअन्तरमा पराजित गर्दै सप्तरीले उपाधि उचालेको हो ।

भीमनारायण गोल्डकपको १७ वर्षे दौरानमा पहिलो पटक सहभागी भएका दुवै टिम फाइनलमा भेट भएका हुन् । तल्लो टुँडिखेलमा अपराह्न भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटको निर्धारित अवधिमा २–२ को बराबरी भएपछि खेल ट्राइब्रेकरको आधारमा छिनोफानो गरिएको थियो । 

पहिलो हाफको अन्तिम क्षणमा दुवै टिमबीच पाँच मिनेटको अवधिमा आलोपालो तीन गोल भयो । गाईघाटविरुद्ध सप्तरीका राज भुसालले ४० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, गाईघाटले सप्तरीलाई बदला लिन एक मिनेट मात्र कुर्नु पर्‍यो । ४१ औं मिनेटमा गाईघाटका आकाश राईले गोल गर्दै बराबरीमा पुर्‍याए । पुनः सप्तरीका तर्फबाट ४४ औं मिनेटमा क्षितिज भण्डारीले उत्कृष्ट प्रहार गर्दै अग्रता कायम गर्न सफल भए । गाईघाटलाई बराबरी गर्न मध्यान्तरपछि अन्तिम ८३ औं मिनेटसम्म कुर्नु पर्‍यो । आशिष राईको गोलसँगै खेल बराबरीमा टुंगिएपछि नतिजाको छिनोफानो ट्राइब्रेकरबाट भयो । 

सप्तरीको जितका लागि विवेक राई, हेमन्त भुजेल, सनम धिमाल र आयुष मगरले गोल गर्न सफल भए । गाईघाटका तर्फबाट निश्चल मोक्तान, आकाश राई र प्रविण राईले मात्र गोल गर्न सफल भए । धिरेन क्षेत्रीको गोल विपक्षी सप्तरीका गोलरक्षक रविन बस्नेतले उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाए । 

दुवै टिमले यस अघिका प्रतियोगितामा उपाधि उचालिसकेका दाबेदार टिमलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका थिए । नमोबुद्ध फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसैगरी, विभागीय टिम एपीएफ फुटबल क्लबलाई स्तब्ध पार्दै गाईघाट फुटबल क्लब फाइनल पुगेको थियो ।

प्रतियोगिताका विजेता नमोबुद्ध सप्तरीले नगद ५ लाख र उपविजेता गाईघाटले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पारे । प्लेयर अफ दि टुर्नामेन्ट विजेता टिमका राज भुसाल घोषित भएसँगै नगद १७ हजार ५ सय ५५ बाट पुरस्कृत भए । फाइनलको प्लेयर अफ द म्याच र सर्वोत्कृष्ट गोलरक्षकबाट सप्तरीका रविन बस्नेत पुरस्कृत भए । बेष्ट डिफेन्डर विजेता टिमका आयुष मगर घोषित भए । वेष्ट मिडफिल्डर सप्तरीका विवेक राई, वेष्ट फरवार्ड गाईघाटका विदेशी खेलाडी फोफोना र राईजिङ प्लेयर आयोजक धनकुटा टिमका दिपेन शाक्य घोषित भए । वेष्ट कोचको उपाधि विजेता टिमका सुरेश लामा घोषित भएका छन् । सबैले नगद पुरस्कार प्राप्त गरे । 

विजेता टिमलाई धनकुटाका नगरपालिका प्रमुख चिन्तन तामाङ र सहिद भीमनारायणका पुत्र मनोहरनारायण श्रेष्ठले ट्रफी तथा पुरस्कार प्रदान गरे । यस्तै, उपविजेता गाईघाटलाई पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, धनकुटा नगरपालिका उपप्रमुख हिमादेवी खनाल लगायतले वितरण गरे । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully