भीमनारायण गोल्डकप फाइनल आज : उपाधिका लागि गाईघाट र नमोबुद्ध सप्तरी भिड्दै

चैत्र २३, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup Final Today: Gaighat and Namobuddha Saptari clash for the title

धनकुटा — धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकप उपाधिका लागि गाईघाट फुटबल क्लब उदयपुर र नमोबुद्ध फुटबल क्लब सप्तरी आज (शनिबार) आम्नसाम्ने हुँदैछन् ।

भीमनारायण गोल्डकपको १७ वर्षे दौरानमा यी दुवै टिम पहिलो पटक भेट भएका हुन् । तल्लो टुँडिखेलमा अपराह्न हुने प्रतिस्पर्धामा दुवै टिम उपाधि रक्षाको लागि भिड्ने छन् । दुवै टिमले यस अघिका प्रतियोगितामा उपाधि उचालिसकेका दावेदार टिमलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका हुन् । 

नमोबुद्ध फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसैगरी, विभागीय टिम एपीएफ फुटबल क्लबलाई स्तब्ध पार्दै गाईघाट फुटबल क्लब उपाधि नजिक पुगेको हो । यसअघिका क्वाटर तथा सेमिफाइनलमा समेत उत्कृष्ट खेल प्रदर्शन गरिसकेका दुवै टिमको फाइनल प्रतिस्पर्धा रोचक हुने बताइन्छ । 

यसअघिका खेलमा समेत खचाखच दर्शक रहने गरेकोले फाइनल खेल हेर्ने दर्शकको संख्या बढ्न सक्ने भन्दै व्यवस्थापनमा जुटेको आयोजकले जनाएको छ । अघिल्लो संस्करणदेखि दर्शकलाई निःशुल्क रुपमा खेल हेर्ने व्यवस्था गरिएको छ । सबै दर्शकलाई निःशुल्क खेल हेर्ने प्रबन्धको लागि धनकुटा नगरपालिकाले ३ लाख रुपैयाँ उपलब्ध गराएको म्याच कमिसर गोविन्द राईले बताए । यसैगरी, धनकुटा नगरपालिकाले प्रतियोगिता सञ्चालनको लागि दस लाख रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए । 

प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ दि म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully