पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित दोस्रो फालेलुङ महोत्सवका अवसरमा भएको महिला मिनी म्याराथनमा पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा विजेता भएकी छन् ।
वडा नम्बर ३ र ४ को संगमस्थल सिर्लिंगीटारमा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी १ घण्टा ९ मिनेटमा पार गर्दै पुष्पाले उपाधि जितिन् ।
समुद्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा भएको प्रतियोगितामा फालेलुङ–६ की सरला रार्ई दोस्रो र फालेलुङ–४ की रेनुका राई तेस्रो भए । सरलाले १ घन्टा १७ मिनेट र रेनुकाले १ घन्टा १८ मिनेटमा दौड पूरा गरेका थिए ।
विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए । स्पर्धामा १८ खेलाडी प्रतिस्पर्धी थिए । दौड फालेलुङ गाउॅपालिकाको सहयोगमा तीन सिमाना जनसेवा समाजले आयोजना गरेको हो ।
