काठमाडौँ — यही चैतमा राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघले आयोजना गर्ने चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ सम्म ललितपुरको च्यासल रंगशालामा हुनेछ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिप्टिन्स रग्बी प्रतियोगिता राष्ट्रिय स्तरका क्लबमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले भाग लिनेछ । राउन्ड रोबिनका आधारमा खेल हुनेछ ।
संघका महासचिव गोविन्द घिमिरेले रग्बी सेभेन्सको तुलनामा फिप्टिन्स प्राविधिक रूपमा पनि उत्कृष्ट खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने भएकाले तीन विभागीय र नेपाली रग्बी इतिहासको पुरानो क्लब गोर्खालीलाई मात्र समावेश गरिएको बताए ।
वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले यस विधाको खेल खेल्न एक निश्चित उमेर समूह र लामो समयदेखि अभ्यस्त खेलाडीलाई मात्र सहज हुने जानकारी गराए । त्यसैले प्रतियोगितामा विदेशी निर्णायक झिकाइएको उनको भनाइ थियो । मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुणारत्ने हुनेछन् । म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा छन् । नेपालबाट प्रेमबहादुर कोइराला रहनेछन् ।
प्रतियोगिताका लागि फिप्टिन्स रग्बी क्लबले एक महिनादेखि नै बन्द प्रशिक्षण गरिरहेको संघका महासचिव घिमिरेले बताए । संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ सिल्डको रूपमा राखेको थियो । गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाखबराबरको रकम प्रदान गरिएको संघले जनाएको छ ।
विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित रनिङ सिल्ड जित्नेछ । उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजारसहित ट्रफी पाउनेछ ।
यसैबाट वैशाख २० देखि २२ सम्म नेपालमै हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि नेपाली टोलीको तयारी गरिने छ ।
