क्रपु म्याराथनको उपाधि आर्मीका रावतलाई

चैत्र २२, २०८१

अनुप पौडेल

Krapu Marathon title to Army's Rawat

कास्की — नेपाल आर्मीका नरेन्द्रसिंह रावतले पहिलोपटक आयोजित क्रपु म्याराथनको उपाधि जितेका छन् । ताङतिङ युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका-१३ काहुँखोलादेखि मादी गाउँपालिका-२ ताङतिङसम्म शुक्रबार भएको २४ किलोमिटरको म्याराथन रावतले जितेका हुन् ।

उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेटमा पूरा गरेको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । रावतले ४० हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरे ।
म्याराथनको विजेतामा आर्मीकै धावकको वर्चस्व रह्यो । उत्कृष्ट ७ मध्ये ५ धावक आर्मीकै रहेको अध्यक्ष गुरुङले जानकारी दिए । आर्मीकै श्रीकोश राई १ घण्टा ४६ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेर द्वितीय भए । उनले ३० हजार रुपैयाँ र मेडल पाए ।

जुम्लाका दलबहादुर कुँवर तृतीय र रोल्पाका मनकुमार रोकामगर चौथो भए । कुँवरले १ घण्टा ४८ मिनेट ३५ सेकेन्डमा र मगरले १ घण्टा ५० मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । कुँवरले २० हजार रुपैयाँ, मगरले १० हजार रुपैयाँसहित मेडल पाए ।

आर्मीका सुवास कार्की पाँचौँ, गोविन्द कार्की छैटौं र रिकुलाल सिंजाली सातौं भए । सुवासले १ घण्टा ५१ मिनेट ३० सेकेन्ड, गोविन्दले १ घण्टा ५३ मिनेट ३० सेकेन्ड र रिकुलालले १ घण्टा ५५ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका थिए । उनीहरुले क्रमशः ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

म्याराथनमा ८७ जना धावक सहभागी थिए । ताङतिङ युवा क्लबले ३१ औं चैत मेलाको अवसरमा गाउँकै पर्यटकीय गन्तव्य क्रपु डाँडाको नाममा म्याराथन आयोजना गरेको हो । 

अनुप

Link copied successfully