झापाको गोल नगर्ने बानी

काठमाडौंका प्रशिक्षक वाइड भन्छन्, ‘फुटबलमा गोलरहित खेल पनि हुन्छ र यसलाई स्विकार्न सक्नुपर्छ’

चैत्र २२, २०८१

हिमेश

Jhapa's habit of not scoring

काठमाडौँ — फुटबल खेल रोमाञ्चक हुन गोल आवश्यक हुन्छ । जति नै आक्रमण बुने पनि त्यो त्यत्तिकैमा टुंगिन्छ भने खेलको मज्जा नै कहाँ हुन्छ र ? नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार काठमाडौं रेजर्स र झापा एफसी भिड्दा यो खेलको कथा यस्तै रह्यो ।

पूरा खेलको सार रह्यो, दुवै टिमले आक्रमण त बुने तर, गुमाएको मौकाभन्दा बढी केही हुन सकेन । त्यसैले यो निरस खेल मात्रै रह्यो । बराबरीले दुवैलाई फाइदा होइन, बेफाइदा मात्र गर्नेछ । 

काठमाडौंको यो लगातार दोस्रो बराबरी थियो । पूरा खेललाई लिएर मुख्य प्रशिक्षक प्याट्रिक डे वाइडले फरक धारणा राखे । उनको मत थियो, काठमाडौंको टिम दृष्टिकोणले खेल राम्रो रह्यो, स्तर मज्जाको थियो । उनी आफ्ना खेलाडीको प्रदर्शनबाट खुसी पनि छन् । उनको दाबी थियो, ‘गोलरहित बराबरी भयो भन्दैमा मैले आफ्ना खेलाडीलाई खेल निरस रह्यो भनेर कसरी भन्ने ? प्रशिक्षकले यस्तो भन्दैन । हाम्रा लागि त क्लिन सिट राख्नु पनि उपलब्धि नै हो ।’

प्रशिक्षक वाइड के पनि मान्छन् भने फुटबलमा यस्ता गोलरहित बराबरी खेल पनि हुन्छन् र यसलाई स्वीकार्न सक्नुपर्छ । उनी आफ्नो टिममाथि दबाब परेको मान्दैनन् । बरू भन्छन्, ‘हाम्रो ध्यान अबको चार खेलमा हुनुपर्छ । अब खेलहरू लगातार हुनेछ र खेलाडीले आरामको मौका पनि पाउने छैनन् । यस्तो स्थितिमा टिमलाई कसरी तयार पार्ने त्यो नै मुख्य मुद्दा हुने गर्छ ।’

यो खेलपछि काठमाडौं २ अंकमै सीमित रहेर चौथो स्थानमा छ । झापाको २ अंक छ र पाँचौंमा छ । अझ झापाले त दुवै खेलमा कुनै गोल सकेको छैन । ‘गोल गर्न नसक्नु भने समस्या नै भयो,’ झापाका प्रशिक्षक प्रवेश कुटवालले भने, ‘अबको खेलमा गोल चाहिन्छ नै ।’ 

उनले पनि माने, बराबरीको अर्थ अंक गुमाउनु नै हो, एक अंकमा चित्त बुझाउनुको अर्थ छैन । झापाले अघिल्लो संस्करणसमेत जोडेर गोल गर्न नसकेको लगातार खेलसंख्या तीन पुगेको छ । झापाले गोलरहित बराबरी खेलेको नै यो पाँचौं खेल हो । 

गोल गर्ने मामिलामा झापा पूरा प्रतियोगिताकै एक ‘कन्जुस’ टिम हो । अहिलेसम्म झापाले खेलेका १० खेलमध्ये तीनमा मात्र गोल गर्न सकेको छ, बाँकी सात खेलमा कुनै गोल गर्न नै सकेको छैन । टोलीको यही बानीले अन्ततः यसपल्ट पनि आफैलाई घाटा पुर्‍याउने निश्चित छ । मिनेटका आधारमा झापाले गोल नगरेको पनि १ सय ९३ मिनेट पुगिसकेको छ । प्रशिक्षक कटुवालले यो समस्याको समाधान कसरी गर्नेछ, त्यो हेर्नलायक हुनेछ । 

यस पछाडि उनको दुईटा तर्क छ । पहिलो हो, अभ्यासका लागि मैदान भन्नु नै छैन । राम्रो मैदानमा नहुँदा विदेशी खेलाडी प्रशिक्षणमै मिहिनेत गर्दैनन् । ‘सातदोबाटोलाई छाडेर अन्यत्र विदेशी खेलाडी खुलेर अभ्यास गर्दैनन् । अभ्यास मैदान प्रतियोगिताकै सबैभन्दा ठूलो समस्या बनेको छ ।’ 

उनले अर्को तर्क प्रस्तुत गर्दै रेफ्रीको स्तरमाथि पनि प्रश्न उठाए । उनले भने, ‘मैले २० वर्षभन्दा बढी समय फुटबल खेलें, पेनाल्टीको निर्णय कस्तो बेला हुन्छ थाहा छ । तर हाम्रा रेफ्रीले निश्चित पेनाल्टीको अवसरमा पनि यस्तो निर्णय गर्दैनन् ।’ 

पोखराका पदाधिकारी कारबाहीमा

अन्ततः पोखरा थन्डर्स र टोलीका पदाधिकारी बिहीबार कारबाहीमा परेका छन् । एनएसएलको बुधबारको खेलमा रेफ्री तथा अन्य पदाधिकारीमाथि हातपातमा उत्रेका सुन्दर थापालाई प्रतियोगिताको पूरा अवधिका लागि दशरथ रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

थापासँगै सहायक प्रशिक्षक दीपक श्रेष्ठ ललितपुर सिटी एफसीविरुद्धको खेलमा गोलको निर्णय आफ्नो पक्षमा नभएपछि विवाद र झगडामा उत्रिएका थिए । पोखराका नवयुग श्रेष्ठको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विल्लीले रोकेका थिए । पोखराले त्यसमा बलले गोललाइन नाघेको दाबी गरेको थियो । दीपकलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । 

पोखरालाई पनि अनुशासन तोडेको र खेलभावना प्रदर्शन गर्न नसकेको भन्दै ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ । प्रतियोगिताको अनुशासन कमिटीले पूरा घटनाक्रमलाई लिएर थप अनुसन्धान गरिरहेको र थप तथ्य फेला परेमा अझ कारबाही हुनसक्ने जनाएको छ । खेलमा पोखरा पराजित रहेको थियो । टोलीको लगातार दोस्रो हार थियो ।

हिमेश

Link copied successfully