धनकुटा — धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नमोबुद्ध फुटबल क्लब सप्तरी डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड क्लब झापालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
धनकुटा बजारको तल्लो टुँडिखेलमा अपराह्न भएको सनसनीपूर्ण खेलमा नमोबुद्धले ३–१ गोलअन्तरमा सहज जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । नमोबुद्धका लागि पहिलो हाफको १४ औं मिनेटमा विवेक राईले गोलको खाता खोले । नमोबुद्धका टिम क्याप्टेन सिर्जनराज गौतमको व्यक्तिगत गोल नै टिमका जितको लागि निर्णायक बन्यो । उनले पहिलो हाफको २० औं र अन्तिम अवधि ९० औं मिनेटमा गोल गरे । त्यसपछि विपक्षी बिर्तामोड टिम दबाबमा रहृयो ।
बिर्तामोडका टिम क्याप्टेन गिल्सन कन्दङ्वाले पहिलो हाफको २६ औं मिनेटमा १ गोल फर्काए । जुन साविक विजेता टिमका लागि सान्त्वना गोल मात्र बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आधा दर्जन बढी उत्कृष्ट गोल गर्ने मौका गुमाए । पहिलो हाफमा दुवै टिम सन्तुलित रहे पनि मध्यान्तर पछिको खेल भने अधिकांश समय नमोबुद्धले आफ्नो पक्षमा बल कब्जा जमायो ।
यसअघि नमोबुद्धले आयोजक सहिद भीमनारायण स्मृति टिम धनकुटालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बिर्तामोडले चित्लाङ फुटबल क्लब काठमाडौंलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
शुक्रबार भने, विभागीय टिम एपीएफ क्लब र गाईघाट फुटबल क्लबबीच सेमिफाइनलमा भिड्ने छन् । शुक्रबार अपराह्न साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ । शुक्रबारको खेलका विजेता टिम र नमोबुद्ध सप्तरीबीच आगामी शनिबार फाइनलमा भेट गर्ने छन् । प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।
