अफगानिस्तान यू–१९ द्वारा नेपाललाई विशाल लक्ष्य

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Huge target for Nepal by Afghanistan U-19

काठमाडौँ — नेपाल यू–१९ ले अफगानिस्तान यू–१९ विरुद्धको पहिलो युथ एकदिवसीय खेल जित्न ३ सय १ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले मूलपानी क्रिकेट मैदान निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय रन बनाउन सफल भयो ।


फैजल शिनोजादाले अफगानिस्तानबाट सर्वाधिक ९७ रन बनाए । शतकको नजिक पुगेर सन्तोष यादवको बलमा आउट भएका उनले ८८ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । उजेरउल्लाह निजाई २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाई आउट भएको अवस्थामा शिनोजादाले ओपनर खालिद अहमदजाईसँग दोस्रो विकेटमा १ सय ५४ रनको साझेदारी गरेका थिए ।


अहमदजाई १ सय ७ बल खेली ६ चौकाका साथ ७६ रन बनाए । कप्तान महबुब खानलाई सन्तोषले ९ रनमा कट एन्ड बोल्ड गरे । बक्रत इब्राहिमजाईले २६ बल खेली समान २ चौका र छक्कासाथ ३५, अजिजुल्लह मिया खिलले २० बलमा २ चौकासहित २१ र नाजिफुल्लाह अमिरीले ७ बलमा १ छक्कासहित १० रन बनाए ।


अब्दुल अजिज १० बल खेली १ छक्कासहित १५ रन बनाए । उनले नै इनिङ्सको अन्तिम बलमा दयानन्द मण्डललाई छक्का प्रहार गरी अफगानिस्तानको स्कोरलाई ३ सय रनमा पुर्‍याएका थिए । नेपालबाट देव्रेहाते स्पिनर सन्तोषले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । अभिषेक तिवारीले ८ ओभरमा ६१ रन खर्चेर २ तथा दयानन्द र विपिन शर्माले १–१ विकेट लिए ।


नेपाल र अफगानिस्तानको यू–१९ टोली अर्को साता मूलपानीमै सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको तयारीको क्रममा तीन खेलको यो शृंखला खेलिरहेका छन् । अफगानिस्तान यू–१९ ले पहिलो पटक नेपालमा आएर शृंखला खेलिरहेको हो । 

कान्तिपुर

Link copied successfully