राष्ट्रिय खेलाडीलाई गोरखा नगरपालिकाको सम्मान

चैत्र २१, २०८१

हरिराम उप्रेती

Gorkha municipality honors national players

गोरखा — राष्ट्रिय फुबटल खेलाडी निसा थोकर र भलिबल खेलाडी उषा भण्डारीलाई गोरखा नगरपालिकाले सम्मान गरेको छ । बिहीबारबाट सुरु भएको मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा थोकर र भण्डारीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

उनीहरुलाई गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकरले नगद र प्रशंसापत्रसहित सम्मान गरेका थिए । ‘खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर पनि सम्मान कार्यक्रम राखेका हौं,’ नगरपालिकाका खेल संयोजक प्रदिप कुँवरले भने । 

उक्त मेयर कप फुटबल प्रतियोगितामा १४ वडाका खेलाडी सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । दोस्रो, तेस्रो र चौथो बन्नोई टिमले क्रमश: ५१ हजार १ सय ११, ३० हजार १ सय ११ र १५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रथम अन्तरपालिका उपउप्रमुख महिला भलिबल प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully