मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल सुरु

चैत्र २०, २०८१

दुर्गालाल केसी

Chief Minister Cup state level women's volleyball started

दाङ — मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता बुधबारदेखि घोराहीमा सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरका १२ जिल्लाका टोलीको सहभागिता छ । 

घोराही उपमहानगरपालिका–१५ स्थित सहिद मञ्चमा चार समूह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिरहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरन गौतमले बताए । लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको पहिलो दिन ६ खेल भएका छन् ।

पहिलो दिन पाल्पा जिल्ला लगातार दुई खेलमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ बाट पाल्पाले अर्घाखाँची र नवलपरासी पश्चिमलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । नवलपरासी पश्चिममाथि पाल्पाले ३–० सेटको विजय हात पारेको थियो । अन्य खेलमा रुकुम पूर्वले गुल्मीलाई, पाल्पाले अर्घाखाँचीलाई, बाँकेले प्युठानलाई रुपन्देहीले दाङलाई, रोल्पाले रुकुम पूर्वलाई, समान ३–० को सोझो सेटमा पराजित गरे । 

प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका गर्न प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको गौतमले बताए । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद १ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछ भने उपविजेता टिमले नगद ६५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छ । तृतीय पुरस्कार नगद ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार नगद १५ हजार र प्रमाणपत्र रहेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही ५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यसअघि अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । यसपछि चैत २५ देखि प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता र चैत २७ देखि फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी प्रदेशको छ ।

लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले गरेकी थिइन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully