भीमनारायण गोल्डकप : सेमिफाइनलका लागि विभागीय टिम एपीएफ र बेलबारी भिड्दै

चैत्र २०, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup: Departmental team APF and Belbari will meet for the semi-finals

धनकुटा — धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको आज (बुधबार) हुने अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम एपिएफ क्लब र बेलबारी फुटबल क्लब मोरङ आम्नेसाम्ने हुँदैछन् ।

तल्लो टुँडिखेलमा ४ बजे हुने खेलमा दुवै टिम सेमिफाइनल यात्राको लागि भिड्ने छन् । बलिया मानिने दुवै टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

बिहीबार नमोबुद्ध र बिर्तामोड युनाइटेडबीचको सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । बिर्तामोड भीमनारायण गोल्डकपको डिफेन्डिङ च्याम्पियन समेत हो । यसैगरी, बुधबार हुने विभागीय टिम एपीएफ क्लब र बेलबारी फुटबल क्लबबिचका विजेता र गाईघाट फुटबल क्लब सेमिफाइनलमा भेट हुने छन् । दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुने छ । 

पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जित हात पार्दै स्थान सुरक्षित पारेको छ । यस्तै, दोस्रो दिन गाईघाटले ब्वाइज फुटबल क्लब इटहरीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ भने तेस्रो दिनको क्वाटरफाइनलबाट बिर्तामोड क्लबले सेमिफाइनल सुरक्षित गरिसकेको छ । बिर्तामोडले चित्लाङ फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप र प्रमाणपत्र पाउनेछन् । यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ दि म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully