भीमनारायण गोल्डकप : विर्तामोड सेमिफाइनल प्रवेश

चैत्र १९, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup: Virtamode enters semi-finals

धनकुटा — चित्लाङ फुटबल क्लब काठमाडौंलाई फराकिलो अंकले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्तामोड युनाइटेड झापा धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा मंगलबार अपराह्न भएको रोमान्चक प्रतिस्पर्धामा ३–१ गोल अन्तरमा पराजित गर्दै विर्तामोडले अगाडि यात्रा तय गर्‍यो । पहिलो हाफमा दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेले पनि नै चित्लाङका गोलरक्षक विदेशी खेलाडी कुवासीको कमजोरीको फाइदा विर्तामोडले लियो । 

विर्तामोडले पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा टिमका लागि अभिषेक गुरुङले पहिलो गोल गर्दै खाता खोले । पहिलो हाफमा चित्लाङले गोल गर्ने आधा दर्जन मौका गुमायो । विपक्षी टिमको बलियो गोलरक्षक विश्वास चौधरीको कारण उसको प्रयास सफल हुन सकेन ।

पहिलो हाफको खेल १–० मा सीमित रहृयो । दोस्रो हाफमा भने विर्तामोड आक्रामक बन्यो । खेलको ५८ औं मिनेटमा विर्तामोडका तर्फबाट विशाल भण्डारीले गोल गर्दै टिमलाई सहज जित दिलाए । विपक्षी गोलरक्षक कुवासी डिबक्स बाहिर आएको मौका छोपी भण्डारीले चलाखीपूर्ण ढंगले पोष्टमा प्रहार गरेको बलले जाली चुम्यो । त्यसको छोटै अवधिमा खेलको ६३ औं मिनेटमा विर्तामोडका तर्फबाट तेस्रो गोल गिल्सन कन्दङ्वाले गरे । उनले गोलपोष्ट नजिकैबाट प्रहार गरेको बल गोलमा परिणत बन्दै ३–० को अग्रता दिलाए । 

दुवै टिमले विदेशी खेलाडीका साथ मैदान प्रवेश गरेका थिए । खेलको ६६ औं मिनेटमा भने विर्तामोडका खेलाडी सुवास पोयाङ्बुले आफ्नै पोष्टमा आत्माघाती गोल गरे । उनको आत्माघाती गोलको उपहारबाट चित्लाङले सान्त्वना जित हात पार्‍यो । खेलको म्यान अफ दि म्याच विर्तामोडका गिल्शन कन्दङ्वा घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । 

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully