भीमनारायण गोल्डकप : सेमिफाइनलका लागि बिर्तामोड र चित्लाङ क्लब भिड्दै

चैत्र १९, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup: Birthamod and Chitlang Clubs clash for semi-finals

धनकुटा — सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको आज (मंगलबार) हुने खेलमा झापाको बिर्तामोड र चित्लाङ फुटबल क्लब काठमाडौं भिड्ने भएका छन् ।

डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापा र काठमाडौंको चित्लाङ फुटबल क्लब दुवैले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि तल्लो टुँडिखेलमा खेल भइरहेको हो । पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जीत हात पार्दै स्थान सुरक्षित पारेको छ । यस्तै, दोस्रो दिन गाईघाटले ब्वाइज फुटबल क्लब इटहरीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ । 

सेमिफाइनलका लागि बुधबार विभागीय टिम एपीएफ र बेलबारी फुटबल क्लब भिड्ने छन् । त्यसपछि क्वाटरफाइनल खेल हुने छ । 

पहिलो दिनको खेलबाट आयोजक सहिद भीमनारायण स्मृति धनकुटा भने प्रतियोगिताबाट बाहिरी सकेको छ । खेल अपराह्न ४ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ । 

विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र पाउँनेछन् । यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ दि म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully