धनगढी — चैत १९ मा धनगढी रंगशालामा हुने छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ का लागि वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले वर्ष पुरुष खेलाडीमा खो खोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली मनोनयनमा परेको जनाएको छ ।
हेमराज प्रथम खो खो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने टोलीका कप्तान हुन् । उनकै कप्तानीमा नेपालले चौथो एसियाली खो खो च्याम्पियनसिप, नेपाल–भारत खो खो म्याच र प्रथम खो खो विश्वकप गरी तीन प्रतियोगितामा लगातार रजत पदक जितेको छ ।
भलिबलका अर्जुन श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने टोलीका कप्तान हुन् । सहाना प्रधान भलिबल प्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाएका उनले उत्कृष्ट प्रदर्शन गरे । उनी प्रतियोगिताकै उत्कृष्ट ब्लकर भएका थिए । करातेका शेखुले भुटानमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताएक थिए । उनले १६औं एसिया प्याफिसिक सितुरियो कराते च्याम्पियनसिमा नेपाललाई कांस्य जिताएका थिए ।
आयोजक अध्यक्ष प्रदीप पाठकका अनुसार मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । यसअघि नै वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरिसकेको छ ।
वर्ष खेलाडी महिलातर्फ खो खोकी मानमति धामी, कबड्डीकी मानमति बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा छन् । वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा छन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनीषा बोहरा, कबड्कीी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी छन् । स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेताको नाम कार्यक्रमकै दिन घोषणा हुनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइमबाट सम्मानितलाई २५–२५ हजार प्रदान गरिने अध्यक्ष पाठकले बताए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
यसपालि धनगढी रंगशालामा हुने अवार्डमा सांगीतिक प्रस्तुति पनि रहनेछ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको छ ।
