ललितपुर २–२ काठमाडौं
काठमाडौँ — ललितपुरका प्रशिक्षक सिमोन ग्रेसनले ठीकै भनेका हुन्, ‘फुटबलमा यस्तै हुन्छ ।’ नेपाल सुपर लिग (एनएसएल) को शनिबार उद्घाटन खेलमा सुरुमै लागिरहेको थियो, ललितपुर सिटी एफसीले यो खेल मज्जाले जित्ने भयो । तर त्यस्तो केही भएन ।
उल्टै डिफेन्डिङ च्याम्पियन ललितपुर काठमाडौं रेजर्सको हातबाट २–२ को बराबरीमा रोकियो । काठमाडौंले त उत्कृष्ट पुनरागमन रचेको हो । तर, टोलीलाई एक समय लागेको हुनुपर्छ, जित्नुपर्ने त हामी थियौं कि ?
त्यसैले एक अर्थमा ललितपुरलाई लाग्दो हो, जित्नुपर्ने तीन थियो, एक अंकमै चित्त बुझाउनुपर्यो । अर्को अर्थमा फेरि के पनि लाग्दो हो भने धन्न १ अंक पाइयो, नत्र हारको सम्भावना पनि थियो ।
‘काठमाडौं राम्रो टिम हो, त्यसैले उसले बलियो चुनौती पेस गर्ने तय थियो,’ प्रशिक्षक ग्रेसनले धेरै गुनासो गर्न रूचाएनन् र इमान्दारितापूर्वक उत्तर दिए । उनका लागि यो वास्तवमै स्वाभाविक नतिजा रह्यो । दुवै टिमका लागि बराबरीमै पनि खुसी हुनुपर्ने अवस्था बन्यो ।
काठमाडौंका प्रशिक्षक प्याट्रिक डे वाइडले भने आफ्नो टिमले दोस्रो हाफमा राम्रो खेलेको दाबी गरे । किनभने टिमबाट दुई गोल निस्केको थियो । उनले भने, ‘हाम्रो पुनरागमन वास्तविक हो, यो कुनै संयोग जस्तो मात्र होइन ।’ खेलको सार यस्तो रह्यो, ललितपुरले सुरुमै २ गोल गर्यो तर अग्रता कायम राख्न सकेन । त्यसैले सम्भवतः यो बराबरीमा अलिकति बढी खुसी काठमाडौं हुनुपर्नेछ । ‘खेल आफैंमा पनि उत्कृष्ट रह्यो,’ वाइडले थपे ।
दशरथ रंगशालामा भएको यो खेलले पक्कै एउटा तथ्य भने संकेत गरेको छ । यो प्रतियोगिताले पस्कने फुटबल माथिल्लो स्तरको हुनेछ अनि रोमाञ्चक पनि । खेल सुरु हुँदा मैदानमै १० विदेशी खेलाडी थिए । तिनीहरूले जसरी बलमाथि नियन्त्रण गर्न खोजिरहेका थिए, त्यो अलिकति भए पनि स्तरीय थियो । खेलले दिइरहेको ‘भाइब्स’ मा मिठास थियो । रंगीन दशरथ रंगशालाले प्रस्तुत गरेको रौनकता हेर्न अपेक्षाभन्दा बाक्लै संख्यामा दर्शक उपस्थित रहे ।
आत्मघाती गोल ?
खेलको पहिलो गोल पाँचौं मिनेटमा सम्भव भयो, जतिबेला कर्नरको छेउबाट जोनाथन एडुवार्डोको प्रहारले शून्य कोणबाट पोस्टको दिशा लिएको थियो । उनको प्रहार आफैंमा सिधा पोस्टमा प्रवेश गरेको थियो कमल श्रेष्ठलाई छोएर । सम्भवतः यो आत्मघाती गोल थियो । तर यसको श्रेय चिलीमा जन्मेका प्यालेस्टिनी खेलाडीले पाए । खेलले १५ मिनेट मात्र के छोएको थियो, आदित्य शाक्यले ललितपुरका लागि दोस्रो गोल थपे ।
रिबाउन्डमा इको इजिकेलको पासलाई आदित्यले गोलमा परिणत गरे । खेलको स्थिति पल्टाउन काठमाडौंले ७५ औं मिनेटमा गोल गरेको थियो । यो गोल अमाडोउ डिओपको नाममा रह्यो । जिलेस्पीजंग कार्कीको पासमा उनले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रान्सेली खेलाडी भिन्सेन्ट कोजिलोले पेनाल्टीबाट गोल गरेर खेल बराबरीमा आएको थियो । उनको प्रहार आफैंमा उत्कृष्ट पेनाल्टीको नमुना थियो ।
ललितपुरका योगेश गुरुङले कोजिलोलाई नै लडाएका थिए । त्यसमा पेनाल्टी प्रहारको निर्णय दिन रेफ्री उमेश बिडारीलाई गाह्रो भएन । पूरा खेल अवधिमा दुवै टिमले त्यस्ता केही आक्रमण बुनेका थिए, जसमा गोलको पूरा सम्भावना थियो । संयोग कस्तो रह्यो भने ललितपुर र काठमाडौं प्रतियोगिताका दुई पूर्वविजेता हुन् । त्यस अर्थमा सबैभन्दा सफल टिम पनि । यो उनीहरूबीचको पाँचौं खेल थियो, तर बराबरी निस्केको भने यो नै पहिलो पटक थियो । यो नतिजा दुवै टिमलाई स्वीकार्य नै रह्यो ।
