भीमनारायण गोल्डकप आजदेखि

‘ए’ डिभिजनसहित आठ टिम सहभागी हुँदै

चैत्र १७, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup from today

धनकुटा — सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

धनकुटा ५ स्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिनको खेल आयोजक सहिद भीमनारायण प्रतिष्ठान धनकुटा विरुद्ध नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीच हुँदैछ । 

प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता रहने भएको छ । जसमा आयोजक तथा नमोबुद्ध युथ फुटबल क्लबसहित चित्लाङ फुटबल क्लब काठमाडौं, बिर्तामोड युनाइटेड झापा, ब्वाइज फुटबल क्लब इटहरी, गाईघाट फुटबल क्लब उदयपुर, बेलबारी फुटबल क्लब मोरङ तथा विभागीय टिम एपिएफ क्लब काठमाडौं रहेका छन् । 

Bhimnarayan Gold Cup from today

विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । विभिन्न दस वटा उपसमिति समेत गठन गरिएको प्रतियोगिताका संयोजक शम्भु प्रधानले जानकारी दिए । जसमा आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयम्सेवक तथा प्राथमिक उपचार व्यवस्थापन उपसमिति गठन गरिएको संयोजक प्रधानले बताए । 

प्रतियोगिताको मुख्य सहयोगी धनकुटा नगरपालिकासहित जिल्लास्थित सबै पालिका, प्रयोजक जगदम्बा इन्टरप्राइजेज प्रालि काठमाडौं र सहआयोजक जीवन विकास लघुवित्त वित्तिय संस्था मोरङ रहेको जनाइएको छ । प्रतियोगिताका खेल हेर्न निःशुल्क व्यवस्था गरिएको छ । 

गत वर्ष १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको थियो । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरिसकेको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully