काठमाडौँ — राष्ट्रिय बास्केटबल च्याम्पियनसिप विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।
भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा चैत २१ देखि २५ सम्म साबा च्याम्पियनसिप हुनेछ । नेपालसहित आयोजक भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ । साबा क्लब च्याम्पियनसिप पहिलो पटक हुन लागेको जनाइएको छ ।
टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बीसीको सामना गर्नेछ ।
टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने जनाइएको छ । टाइम्सका सदस्य एवं राष्ट्रिय टोलीका कप्तान सदीश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताएका छन् ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरे । अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापा, टाइम्सका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डेले टाइम्स टोलीलाई बिदाइ गरेका थिए । टोली सोमवार भारत जानेछ ।
टाइम्स बास्केटबल टोलीमा नविन्द्रर भण्डारी (कप्तान), सदीश प्रधान, विजय बुर्जा, मनिष केसी, सुरज खड्गी, श्रेयशबहादुर शाही, अदृतबहादुर शाही, कमल थापा, छिरिङ थिन्ले रहेका छन् ।
