पाँचथर — फालेलुङमा आयोजित म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ (लिम्बू) प्रथम भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा उनले ४५ प्रतिस्पर्धीलाई पछि पार्दै निर्धारित ४४ किलोमिटर दूरी ३ घण्टा २२ मिनेट ५८ सेकेन्डमा पार गरेका थिए ।
यस्तै पाँचथरको फिदिम-१३ का विशाल राई दोस्रो र त्रिभुवन आर्मी क्लबका राजन मेयोङवा (लिम्बू) तेस्रो भएका छन् । विशालले ३ घण्टा २९ मिनेट र राजनले ३ घण्टा ३८ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन' भन्ने नारासहित परिवर्तन संघ फालेलुङले ४४ किलोमिटर लामो म्याराथन आयोजना गरेको हो ।
यो दौड जिल्लामा आयोजना भएमध्ये सबैभन्दा लामो दूरी र सर्वाधिक पुरस्कार राशीको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५५ हजार ५सय ५५, २७ हजार २ सय २७ र १२ हजार २ सय १२ रुपैयाँ पुरस्कार सुरक्षित गरेका छन् ।
दौड समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाइमा रहेको फालेलुङ-३ नाम्लुवा भञ्ज्याङदेखि सुरु भएर ३ हजार २ सयम मिटर उचाइमा अवस्थित फालेलुङ-४ को फालौट (गोर्खेपानी) मा अवस्थित बोर्डर आउट पोस्ट पुगेर पुनः नाम्लुवा भञ्ज्याङमै आइपुगेर टुंग्याइएको थियो ।
साहसिक खेलमार्फत पर्यटन प्रवर्धन गर्नुका साथै युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा रहनुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक परिवर्तन संघका रावण राईले बताए ।
