प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

आर्मी ६ विकेटले पराजित

चैत्र १६, २०८१

सन्जु पौडेल

Prime Minister's Cup Cricket title to Police

तिलोत्तमा — कुशल भुर्तेलको अर्धशतक मद्दतमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली आर्मी क्लबलाई हराउँदै साबिक विजेता पुलिसले चौथो पटक उपाधि जितेको हो ।

आर्मीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनायो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । उनले ७० बलमा ७ चौका र ३ छक्का प्रहार गरे । 

अमित श्रेष्ठले ३८ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३९ रन बनाए । दिलिप नाथले अविजित ३१ रन बनाउँदा गुल्सन झा ९ रनमा आउट भए । बलिङमा आर्मीका लागि शाहब आलमले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका आलमले ५१ रन दिए । नरेन साउदको नाममा एक विकेट रहृयो । 

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको आर्मीले बसिर अहमदको विस्फोटक ब्याटिङमा ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान गरे । उनले १०४ बलमा ९ चौका र एक छक्का प्रहार गरे । कप्तान विनोद भण्डारी ५८ बलमा २९ रन बनाएर आउट भए भने विवेक यादवले ११ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीकी भीम सार्की, कुशल मल्ल र शाहब आलम शून्य रनमा आउट भए ।

आर्मीले सस्तैमा रोक्न पुलिसका करण केसीले ३ विकेट लिए । उनले ७ ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए । सागर ढकालले २, कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्सन झाले समान एक–एक विकेट हात पारे । कुशल भुर्तेलले ५ ओभरमा बलिङ गर्दै बिनाविकेट २४ खर्चिए ।

गत वर्ष फाइनलमा पनि आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । सन् २०१७ मा भएको प्रधानमन्त्री कप क्रिकेटको पहिलो संस्करणको फाइनलमा टाई भएपछि पुलिस र आर्मी दुवै टोलीले संयुक्त उपाधि जितेका थिए । त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully