घलेगाउँ आमन्त्रित गोल्डकप वैशाखमा

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Ghalegaon Invitational Gold Cup in Baisakh

लमजुङ — नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि हुने आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले भाग लिने भएको छ । घलेगाउँको स्वर्गभूमि रंगशालामा एक साता चल्ने प्रतियोगितामा नेपालका ११ टिम र भारतको एक टिमले भाग लिनेछन् ।

लमजुङका ४ र बाँकी ७ टिम जिल्लाबाहिरको हुने आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँले जनाएको छ ।

आयोजक घलेगाउँले शनिबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । घरेलु टिम त्रिवेणी युवा क्लब बेंसीसहर, बेंसीसहर युथ सोसाइटी, नाल्मा ११, बेंसीसहर नगरपालिका–५ र बीवाईसी भोटेओडार छन् । भुईंखेल फुटबल क्लब काठमाडौं, अभिषेक चर्च, फ्रेन्डसिप युथ क्लब तनहुँ, गुन्नी फुटबल क्लब पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रड्स रामपुर चितवन र मनाङ जिल्ला टिम छन् । प्रतियोगितामा दार्जिलिङको एमएससी क्लब बालियाले पनि भाग लिने आयोजक समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

विजेताले ६ लाख ५ सय ५५ रुपैयाँ पुरस्कारसहित गोल्डकप जित्नेछ । उपविजेताले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता गर्न ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च लाग्ने आयोजकको छ ।

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजना गरिने आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिताबारे जानकारी दिन बेंसीसहरमा आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिरः कान्तिपुर ।

कान्तिपुर संवाददाता

Link copied successfully