काठमाडौँ — भलिबल खेलको जगेर्ना, नयाँ खेलाडीलाई हौसला प्रदान गर्ने लगायत उद्देश्यले धनकुटामा वैशाख ५ देखि २० सम्म भलिबल उत्सव हुने भएको छ ।
जिल्ला भलिबल संघ धनकुटाले पत्रकार सम्मेलनमार्फत भलिबल उत्सव गर्ने जानकारी दिएको हो । धनकुटा नगरपालिका–५ स्थित तल्लो टुँडिखेलमा हुने वडास्तरीय पुरुष भलिबल र स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगिता गरिने संघका अध्यक्ष गौरव कार्कीले बताए ।
उनले वडास्तरीय पुरुष भलिबलमा ६० वटै वडाका टिम र पालिकास्तरीय महिला भलिबलमा धनकुटाका ७ वटै स्थानीय तहका टिमको सहभागिता रहने बताए । ‘खेलाडी उत्पादन नभएका कारण उत्सव गर्न लागिएको हो,’ कार्कीले भने, ‘उत्सवपछि वडास्तरबाट खेलाडी छनोट गरिने र उनीहरूलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइनेछ ।’ उत्सवमा स्थानीय उत्पादन प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ ।
