एनएसएलका लागि धनगढी एफसीको जर्सी सार्वजनिक

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Dhangadhi FC's jersey for NSL released

काठमाडौँ — एनसेल नेपाल सुपर लिगको फ्रेन्चाइज टोली धनगढी एफसीले शुक्रबार जर्सी अनावरण गरेको छ । एनएसएल शनिबार सुरु हुनेछ ।

गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले चैत्र १९ गते बुटवल लुम्बिनीसँग खेलेर एनएसएल सुरु गर्नेछ । धनगढी पहिलो दुई संस्करणको उपविजेता टोली हो । शुक्रबार धनगढीका अध्यक्ष सुवास शाही र मुख्य प्रायोजक माई सेकेन्ड टिचर नेपालकी अध्यक्ष मेधा भट्टराईले जर्सी अनावरण गरे ।

शाहीले माई सेकेन्ड टिचरको यो साथ फुटबल विकासलाई मात्र नभई खेलकुद र शिक्षाको विकासमा एकसाथ रहेको बताए । उनले दुई सिजन फाइनल पुगेर धनगढीले आफूलाई प्रमाणित गरिसकेको र यसपालि पनि हरेक खेलसँगै अगाडि बढ्ने योजना रहेको सुनाए । माई सेकेन्ड टिचरकी भट्टराईले आफ्नो संस्थाले प्रविधिमार्फत शिक्षालाई अगाडि बढाइरहेको र दुवैको उद्देश्य एकै भएकाले धनगढीसँगको सम्झौता शिक्षा र खेलकुदको साझेदारी भएको बताइन् ।

धनगढीका कप्तान देवेन्द्र तामाङले टोलीको पहिलो लक्ष्य क्वालिफायरमा पुग्नु रहेको जनाए । ‘फाइनलमा पुग्न पहिलो क्वालिफायरमा पुग्न जरुरी हुन्छ, यो हामीले बुझ्नु छ,’ उनले भने, ‘नयाँ प्रशिक्षकको साथमा हाम्रो तयारी राम्रो भइरहेको छ ।’ मार्की कृतिशरत्न छुन्जुले यो अवसरलाई आफूले ठूलो मौकाको रुपमा बताउँदै त्यसलाई मैदानमा देखाउन तयार रहेको जनाए ।

स्ट्राइकरद्वय आफिज ओलावाले (नाइजेरिया) र अहमद हिजाजी (लेवनान) टोलीमा यथावत छन् । यस सिजन धनगढीले स्पेनिस गोलरक्षक वालिड इसाफी र रक्षक जर्ज काइसेडो, मोरक्कोका डिफेन्सिभ मिडफिल्ड मोहम्मद इल जाउएनी र ब्राजिली विङ्गर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ । मुख्य प्रशिक्षकमा स्पेनिस हुँवा म्यानुएल मार्टिनेज छन् ।

जर्सी अनावरण कार्यक्रममा गायक दुर्गेश थापाको ‘धनगढी एफसी ः दुश्मन हेरेको हेरै’ गीत सार्वजनिक गरिएको थियो । दुर्गेश र राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढीको ब्रान्ड एम्बासडर हुन् ।

धनगढीले गृहनगरमा समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्नेछ । गृहनगरमा रहेका धनगढीका समर्थकले धनगढीस्थित पार्क मोडमा गएर ठूलो स्क्रिनमा टोलीको खेल हेर्न पाउनेछन् । धनगढी उपमहानगरपालिकासँग मिलेर पार्क मोडमा धनगढी एफसीले फ्यान पार्क निर्माण गरेको हो ।

Dhangadhi FC's jersey for NSL released

Dhangadhi FC's jersey for NSL released

तस्बिर सौजन्य : केशव थापा

कान्तिपुर

Link copied successfully