तिलोत्तमा — बुटवलमा प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक बीस पचहत्तर युवा परिवारले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् १ लाख पुरस्कार राशिको खेलमा आयोजकसहित अन्य ८ टिमको सहभागिता रहने जानकारी गराएको हो ।
खेलमा रुपन्देही बाहेक सुनवल नगरपालिका, वीरगञ्ज युथ एकेडेमी, बसन्त युनाइटेड क्लब चितवन, हेटौंडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ र एमएससी भारतको टिमबीच प्रतिस्पर्धा हुने संस्थाका सचिव दिपक गुरुङ ले बताए । उनका अनुसार सहभागी हुने टोलीले राष्ट्रिय खेलाडीसहित मैदानमा खेलाडी उतार्ने छन् ।
प्रतियोगिताका खेल बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेल मैदानमा हुनेछ । खेलको उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । प्रतियोगिता ३० चैतसम्म चल्नेछ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले सहयोग गरेको छ । गुरुङ ले बाहिरदेखि आउने टिमलाई बस्ने, खानेसहितको सुविधा दिइने भएकाले खर्च धेरै हुने अनुमान गरिएको बताए ।
