प्रकाश थापा स्मृति भलिबलमा हतुवागढी र षडानन्दको जित

चैत्र १४, २०८१

रमेशचन्द्र अधिकारी

Hatuvagadi and Shadananda win in Prakash Thapa Memorial Volleyball

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकास्थित घँगरुमा सञ्चालन भएको पाँचौ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा भोजपुरका हतुवागढी र षडानन्द विजयी भएका छन् । 

आयोजक सहिदभूमि र हतुवागढीबीचको खेलमा हतुवागढीले सोझो सेटमा जित हात पारेको हो । क्रमशः २५–१९, २५–१४ र २५–११ स्कोरका साथ हतुवागढीले सहज जित निकाल्यो । यस्तै, भोजपुरको षडानन्द र मोरङको बेलबारीबीचको खेलमा षडानन्द विजयी भएको छ । उसले बेलाबारीका लागि २०–२५, २५–१९, २५–१० र २५–२१ को स्कोरमा जित हात पार्‍यो ।

शुक्रबारको खेल आयोजक टिमविरुद्ध षडानन्द र हतुवागढी र बेलबारीबीच हुने आयोजकले जनाएको छ । पहिलो दिन बुधबार साँगुरीगढी र आयोजकबीचको खेलमा आयोजक विजयी बनेको थियो ।

२०५७ सालमा नेपाल प्रहरीका सहायक निरीक्षक रहेका प्रकाश थापा कालिकोटमा माओवादी आक्रमणमा मारिएका थिए । उनैको स्मृतिमा पाँच वर्षपहिलेदेखि सहिद प्रकाश थापा स्मृति अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजक संस्थाका सचिव अर्जुन थापाले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख २१ हजार नगद र उपविजेताले ६५ हजार नगद तथा दुवैले ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा कोशीका विभिन्न ६ पालिका सहभागी छन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।  

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully