तिलोत्तमा — कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबलाई २ सय ५५ रनको लक्ष्य दिएको छ ।
बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रनको योगफल तयार पारेको हो । कोशीका लागि साकिब हकले सर्वाधिक ६८ रनको योगदान गरे ।
उनी ६३ बलमा ११ चौका प्रहार गर्दै अमर राउटेलाको बलमा एलबीडब्लू आउट भए । कप्तान अंकित सुवेदीले ३५, ऐश भट्टराईले ३४, सुजन थपलियाले ३३, ओपनर चिराज साहले २४ र दिपेश काडेलले १२ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान ३/३ विकेट लिए । गौतमले १० ओभर बलिङ गर्दै ४९ र ढकालले ५१ रन खर्चिए ।
कप्तान रोहित पौडेलले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएर २ विकेट हात पारे । इरशाद अहमद महँगा सावित भए । उनले १० ओभरमा ५६ रन खर्चिएर एक विकेट लिए । अमर राउटेलाको नाममा एक विकेट रह्यो ।
एपीएफले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । एपीएफ ८ खेलबाट १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । कोशीको भने अंक तालिकाको पुछारमा छ ।
यसअघिका ८ मध्ये सातमा पराजित कोशीको २ अंक मात्र छ । कोशी प्रदेशको उपाधि यात्रा समाप्त भइसकेको छ । नेपाल पुलिस क्लब अपराजित रहँदै फाइनलमा प्रवेश गरिसकेको छ । पुलिस १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पुलिसले लिग चरणको अन्तिम खेलमा बिहीबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । आर्मी र एपीएफ मध्ये एक टोली फाइनलमा पुग्नेछ ।
