अहमदाबाद — श्रेयस ऐरको कप्तानी इनिङ्समा पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ । गत सिजन कोलकात्ता नाइट राइडर्सलाई उपाधि जिताएका ऐरले पञ्जाबबाट आफ्नो पहिलो खेल खेल्ने क्रममा अविजित ९७ रन बनाएका थिए ।
आईपीएलमा यो ऐरको उच्च स्कोर हो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले उनको इनिङ्सबाट प्रभावित भई २४३–५ को स्कोर बनाएको थियो । अन्तिम ओभरमा ऐर सामु शतक पुरा गर्ने अवसर रहेको थियो । तर सशांक सिंहले अन्तिम ओभर पुरै खेल्दै ५ चौकासहित २३ रन जोडेपछि ऐर आईपीएलमा आफ्नो पहिलो शतकको नजिक पुगेर रोएिका थिए ।
ऐरले ४२ बल खेल्दै ९ छक्का र ५ चौका प्रहार गरे । सशांक १६ बल खेलि ६ चौका र २ छक्का प्रहार गरि ४४ रनमा अविजित रहे । ओपनर प्रिंयाश अर्याले २३ बल खेलि ७ चौका र २ छक्कासहित ४७ रन बनाएका थिए । अजमातुल्लाह ओमारजाईले १५ बलमा १६ रन बनाए भने ग्लेन म्याक्सवेल आफुले सामना गरेको पहिलो बलमै एलबीडब्लु आउट भए । गुजरातका साई किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
गुजरातले जबाफमा ५ विकेट गुमाई २ सय ३२ रनमात्र बनाउन सक्यो । ओपनर साई सुदर्शनले ४१ बल खेलि ५ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनले कप्तान शुवमन गिलसँग पहिलो विकेटमा ६ ओभर भित्र ६१ रन जोडेर गुजरातलाई राम्रो सुरुआत दिलाएका थिए ।
गिलले १४ बल खेलि २ चौका र ३ छक्कासहित ३३ रन बनाए । जोस बटलरले ३३ बलमा ४ चौका र २ छक्कासहित ५४ र सेरफन रदरफोर्डले २८ बलमा ४ चौका र ३ छक्कासहित ४६ रन बनाए पनि त्यो गुजरातलाई जित दिलाउन पर्याप्त भएन् ।
