श्रेयसप्रेरित पन्जाब विजयी 

चैत्र १३, २०८१

एजेन्सी

Credit inspired Punjab won

अहमदाबाद — श्रेयस ऐरको कप्तानी इनिङ्समा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ । गत सिजन कोलकाता नाइट राइडर्सलाई उपाधि जिताएका ऐरले पन्जाबबाट आफ्नो पहिलो खेल खेल्ने क्रममा अविजित ९७ रन बनाएका थिए ।

आईपीएलमा यो ऐरको उच्च स्कोर हो । टस हारेर ब्याटिङ निम्तो पाएको पन्जाबले उनको इनिङ्सबाट प्रभावित भई २४३–५ को स्कोर बनाएको थियो । अन्तिम ओभरमा ऐरसामु शतक पूरा गर्ने अवसर थियो । तर, शशांक सिंहले अन्तिम ओभर पूरै खेल्दै ५ चौकासहित २३ रन जोडेपछि ऐर आईपीएलमा आफ्नो पहिलो शतक नजिक पुगेर रोकिएका थिए । ऐर र शशांकले छैटौं विकेटमा २८ बल खेल्दै ८१ रनको साझेदारी गरेका थिए । 

ऐरले कुल ४२ बल खेल्दै ९ छक्का र ५ चौका प्रहार गरे । शशांक १६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरी ४४ रनमा अविजित रहे । ओपनर प्रियांश आर्याले २३ बल खेल्दै ७ चौका र २ छक्कासहित ४७ रन बनाएका थिए । अजमतुल्लाह ओमारजाईले १५ बलमा १६ रन बनाए भने ग्लेन म्याक्सवेल आफूले सामना गरेको पहिलो बलमै एलबीडब्लु आउट भए । गुजरातका साई किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

Credit inspired Punjab won

गुजरातले जवाफमा ५ विकेट गुमाई २ सय ३२ रनमात्र बनाउन सक्यो । ओपनर साई सुदर्शनले ४१ बल खेल्दै ५ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनले कप्तान शुभमन गिलसँग पहिलो विकेटमा ६ ओभरभित्र ६१ रन जोडेर गुजरातलाई राम्रो सुरुआत दिलाएका थिए । गिलले १४ बल खेल्दै २ चौका र ३ छक्कासहित ३३ रन बनाए । जोस बटलरले ३३ बलमा ४ चौका र २ छक्कासहित ५४ र सेरफन रदरफोर्डले २८ बलमा ४ चौका र ३ छक्कासहित ४६ रन बनाए पनि त्यो गुजरातलाई जित दिलाउन पर्याप्त भएन । 

पन्जाबबाट अर्शदीप सिंहले २ तथा मार्को ज्यान्सन र म्याक्सवेलले १–१ विकेट लिएका थिए । बलिङमा पन्जाबका मुख्य नायक भने विजय कुमार वश्यक बने । गुजरात विजयतर्फ अगाडि बढिरहेको समयमा उनले ३ ओभरमा २८ रनमात्र खर्चिएका थिए । 

एजेन्सी

Link copied successfully